देउराली । प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । शुक्रबार इटहरीमा सम्पन्न वार्षिक साधारण सभामा पारित गरी चौतारीले उक्त घोषणा पत्र जारी गरेको हो ।
चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यताकमा सम्पन्न भएको वार्षिक साधारण सभामा जारी गरिएको घोषणा पत्रमा सम्पूर्ण श्रमजीवी पत्रकारहरूको पेसागत विकास, न्यूनतम पारिश्रमिक, पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी लगायतकाले सुनिश्चितताको माग गर्नुका साथै पत्रकार महासंघले सञ्चालन गरेको शुद्धीकरणको अभियानमा चौतारीले शुद्धीकरणका मापदण्ड अक्षरशः लागु गर्न माग गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चौतारीको कोशी प्रदेश सदस्य हिमाल दाहालले वाचन गरेको उक्त घोषणा पत्रमा चौतारीले महासंघ समक्ष पत्रकारहरूको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार माग पनि गरेको छ ।
चौतारीले कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ । नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन कटौती गर्ने भन्ने विज्ञापन बोर्डको जानकारी प्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनलाई नियमित रूपमा प्रदान गर्न माग पनि माग गरेको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव एवम् प्रेस चौतारी नेपाल सुनसरीका पूर्व अध्यक्ष देवेन्द्र कार्कीले स्वर्गीय पिता अमर बहादुर कार्कीको स्मृतिमा पत्रकारिता पुरस्कारको लागि १ लाख राशिको अक्षय कोष बनाउने घोषणा गरेका छन् ।
समाज सेवी तथा आमचौक गाउँपालिकाका पूर्व जनप्रतिनिधि समेत रहेका स्वर्गीय कार्कीको स्मृतिमा प्रदान गरिने यस वर्षको पहिलो अमर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल सुनसरीले धरानका पत्रकार रणध्वज लोहारलाई प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र चौतारी सुनसरीका पूर्व अध्यक्ष देवेन्द्र कार्की र श्रीमती सुलोचना कार्कीले नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रले पत्रकार लोहोरलाई सम्मानित गरेका थिए।