विराटनगर । विराटनगर महानगरपालिकाले पहिचान झल्कने ‘लोगो’ छनोट गरेर सार्वजनिक गरेलगत्तै जनस्तरमा यसको व्यापक आलोचना सुरु भएको छ ।

महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको लोगोले महानगरको पहिचानसमेत नझल्किएको र लोगो भद्दा भएको भन्दै  जनस्तरबाट आलोचना सुरु भएको हो ।

कतिपयले छनोट समितिले लोगोको महत्व नबुझेको प्रतिक्रिया दिएका छन् । कतिपयले विराटनगरको पहिचानको साटो लोगोले अरबी देशको पहिचान झल्काएको प्रतिक्रिया दिए ।

लोगोमा अङ्ग्रेजी भाषा प्रयोग गरेकोप्रति पनि धेरैले आपत्ति जनाएका छन् । प्रतीक ढकाल लेख्छन्, ‘अङ्ग्रेजी हैन, देवनागरी भाषाको प्रयोग गरौँ । यो लोगोले विराटनगर झल्काउँदैन ।’

कतिपयले यो हास्यास्पद र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । विराटनगरका साहित्यकार शिवनारायण पण्डित ‘सिङ्गल’ लेख्छन्, ‘ऐतिहासिक, औद्योगिक, धार्मिक, राजनैतिक नेतृत्व दिने र साहित्यिक नगरी विराटनगरको गरिमा यो लोगोमा कुनै कोणबाट पनि दर्शिएको छैन ।’

उनले विराटनगर झल्किने लोगो ल्याउनु पर्ने र यसलाई प्रेमपूर्वक खारेज गर्नुपर्ने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । धेरैले सामाजिक सञ्जालमार्फत् लोगोको विषयमा आलोचनासँगै सुझाव दिएका छन् ।

यता लोगो छनोट समितिका संयोजकसमेत रहेकी महानगरकी उप–प्रमुख शिल्पा निराला कार्कीले लोगोमा विराटनगरको पहिचान झल्किएको बताएकी छन् । लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले लोगोमा विराट राजाको दरबार, राधाकृष्ण रथ यात्रा, औद्योगिक नगरी, एयरपोर्ट, हरियालीलगायत समावेश गरिएको लोगोले विराटनगरको पहिचान झल्किएको बताइन् । लोगो नुरकुमार श्रेष्ठले डिजाइन गरेका हुन् । १ सय ५८ जनाले डिजाइन गरेर पठाएकामध्ये श्रेष्ठले बनाएको लोगो छनोटमा परेको थियो ।