देउराली । धरान उपमहानगरपालिकाले फोहोर फाल्दै आएको अस्थायी ल्याण्डफिल साइडमा बनाएको संरचना वन कार्यालयले भत्काइदिएकाे नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताएका छन् ।
धरान १५ स्थित बाँझगरा वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको ल्याण्डफिल साइड जाने बाटोमा उपमहानगरपालिकाले बनाएको कङ्क्रिटको गेट वन कार्यालयले भत्काएको उनले बताएका हुन् ।
उनका अनुसार ल्याण्डफिल साइडमा अनधिकृत व्यक्तिको प्रवेश रोक गर्न बनाइएको उक्त गेट वन कार्यालयले भत्काइदिएको हो । तर वन कार्यालयले पाँचकन्या सब डिभिजन वन कार्यालयका प्रमुख महेशकुमार साहले उक्त संरचना बनाएको र भत्काएको दुवैको जानकारी नभएको बताएका छन् ।
उनले ल्याण्डफिल साइड हस्तान्तरित वन क्षेत्र भएकोले कार्ययोजना विपरीतको संरचनाहरू बनाउन नमिल्ने बताएका छन् । उनले वनमा फोहोर फाल्नै नमिल्ने भए पनि अस्थायी रूपमा फोहोर फाल्दै आएकोमा स्थायी संरचना निर्माण गर्नु कानुन विपरीत भएको बताएका छन् ।
नगर प्रहरी प्रमुख कोइरालाले भने अव्यवस्थित रूपमा फोहोर फाल्ने र अनधिकृत व्यक्ति प्रवेश गरी आगजनी जस्ता कार्य गर्ने भएकाले गेट र सेन्ट्री पोष्ट बनाउँदै गरेको जनाएका छन् ।