वराहक्षेत्र । धरानको कोका खानेपानी अभियानका लागि वराहक्षेत्र–१ नम्बर वडा कार्यालयले आवश्यक समन्वय र पहलकदमी गर्न नगरलाई आग्रह गर्ने भएको छ ।
नगरप्रमुख रमेश कार्कीलाई वडा १ का अध्यक्ष किशन थापाले धरान उपमहानगपालिकाको खानेपानी अभियानलाई जग्गा उपलब्ध गराउनका लागि आवश्यक समन्वय र पहलकदमी गर्ने सोमबार निर्णय भएको हो । धरान खानेपानी अभियानका लागि भौतिक संरचना निर्माण गर्न जग्गा माग गरेकाले सोही अनुसार वडाले वराहक्षेत्र नगरलाई आग्रह गर्ने भएको वडाध्यक्ष थापाले जानकारी दिए ।
धरान कोका खानेपानी अभियानकर्ता धरान नगरप्रमुख हर्कराज राईको नेतृत्वमा गएको टोली र वराहक्षेत्र–१ का अध्यक्ष थापा नेतृत्वको टोलीबीच छलफल भएको थियो । छलफलमा वडाको खारखोलास्थित पञ्चकन्या टोलनजिकै जङ्गलमा रहेको मौरीघार भनिने स्थानमा खानेपानीको ट्याङ्की र प्रशोधन केन्द्रलगायतका भौतिक संरचना बनाउन जग्गा प्राप्तिका लागि आवश्यक पहलकदमी, छलफल र समन्वय गर्ने गराउने गरी निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए । अभियानका लागि करिब डेढ हेक्टर जग्गा चाहिने नगरप्रमुख राईले बताएको उनले जानकारी दिए ।
वडा कार्यालयमा सम्पन्न छलफलमा धरानका नगरप्रमुख राई, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा नं. ४, ११, १३ र १८ का अध्यक्षहरू क्रमशः धनबहादुर राई, लोकेन्द्रबहादुर फागो, नेत्र काफ्ले र नरेन्द्रकुमार राई (प्रवीण) सहभागी थिए । वराहक्षेत्रबाट वडा नं. १ का वडाध्यक्ष थापासहित वडासदस्यहरू अमिना राई, कुमार भट्टराई, दीपक राई र दिलमाया सार्की, वडा नं. ३ का सदस्य विष्णु कार्की, वाइसीएलका वराहक्षेत्र नगर इञ्चार्ज प्रेम घिमिरे, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द श्रेष्ठ र स्थानीय कुमार विकलगायत सहभागी थिए ।
यता वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले छलफलको विषयबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘जग्गाको विषयमा वडाले त्यसरी सिफारिस दिन मिल्दैन, कार्यपालिकाको निर्णय नै अन्तिम हुनेछ’ उनले भने, ‘धरानले हामीसँग सहमति नगरी एकलौटी काम गरेको छ, कोकाको विषयमा क्लियर नभएसम्म हामी कुनै सम्झौता गर्दैनौँ ।’