धनकुटा । ज्येष्ठ नागरिक जिल्ला सङ्घ धनकुटाले संस्थाको ११ औं स्थापना दिवसको अवसर पारेर संस्थाले हालसम्म सञ्चालन गरेका विविध गतिविधिहरू पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।
ज्येष्ठ नागरिक जिल्ला सङ्घ धनकुटाले मङ्गलबार पत्रकार सम्मेलन गरेर संस्थाले हालसम्म सञ्चालन गरेका विविध कार्यक्रमहरू पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष रामबहदुर श्रेष्ठले ज्येष्ठ नागरिक सङ्घ धनकुटामा १ हजार ३३ जना ज्येष्ठ नागरिकहरू आबद्ध रहेको जानकारी दिए । उनले जसमध्ये ८६ जनाको स्वर्गारोहण भैसकेको पनि जानकारी दिए । उनले बाँकी रहेकाहरूमध्येबाट ३२ जना ज्येष्ठ नागरिकहरू सुनसरी जिल्ला ज्येष्ठ नागरिक सङ्घ धरानलाई हस्तान्तरण गरिएको बताए । हाल ज्येष्ठ नागरिक सङ्घ धनकुटामा भने ९ सय १५ जना ज्येष्ठ नागरिकहरू रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले भने, ‘ज्येष्ठ नागरिकहरू प्रायःजसो एक्लोपन र निराश हुने गरेकाले उनीहरूको मन भुलाउनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।’ उनले हालसम्म ज्येष्ठ नागरिक सङ्घ धनकुटाले सञ्चालन गरेका विविध कार्यक्रमको प्रगति प्रतिवेदनसमेत सार्वजनिक गरे । उनले ज्येष्ठ नागरिक सङ्घ धनकुटालाई हालसम्म सङ्घीय सरकारबाट ३५ लाख, प्रदेश सरकारबाट ८ लाख ५० हजार र धनकुटा नगरपालिकाबाट पनि आर्थिक सहयोग भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सङ्घ र प्रदेश सरकारले गरेको आर्थिक सहयोगबाट ज्येष्ठ नागरिक सङ्घ धनकुटाको भवनमा तला थप गर्दा ६ लाख २४ हजार, फर्निचर खरिदमा २ लाख, कार्यालय व्यवस्थापन ५० हजार, चालु वर्षमा तीर्थयात्रामा जाँदा ५० हजार खर्च भएको जानकारी दिइएको छ । त्यसैगरी नगरक्षेत्रका ६ वटा वडाहरूमा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्वास्थ्य सचेतना कार्यक्रममा चिया, नास्ता र मसलन्दको लागि ७१ हजारभन्दा बढी खर्च भएको जानकारी दिइएको छ ।
त्यसैगरी यही वर्ष ज्येष्ठ नागरिक सङ्घ धनकुटामा आबद्ध ज्येष्ठ नागरिकहरूलाई लुम्बिनीलगायत नेपालका विभिन्न धार्मिकस्थलहरूको भ्रमण गराउँदा १ लाख ५० हजार खर्च भएको अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी धनकुटा नगरपालिकाको ज्येष्ठ नागरिक सङ्घ नगरसमितिलाई ६० हजार, धनपा–६ र ७ नं.वडा ज्येष्ठ नागरिक सङ्घलाई ५०–५० हजार, धनपा–४ ज्येष्ठ नागरिक सङ्घलाई ४० हजार आर्थिक सहयोग गरिएको पनि अध्यक्ष रामबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । नगरक्षेत्रका ज्येष्ठ नागरिकहरूलाई ०७२ साल देखि नियमितरूपमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम पनि सञ्चालन गरिरहेको बताइएको छ ।
ज्येष्ठ नागरिकको नाममा सङ्घ र प्रदेशबाट आएको रकम धनकुटा नगरभन्दा बाहिर खर्च गर्न नदिएको ज्येष्ठ नागरिकहरूले धनकुटा नगरपालिकासँग गुनासो गरेका छन् । सङ्घका अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरूको तर्फबाट फोनिज प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्घका सचिव कृष्णभागवत श्रेष्ठले गरेका थिए ।