विजयपुर । सुनसरीका जुडो खोलाडी सम्मानित भएका छन् ।

शुक्रबार जिल्ला जुडो सङ्घको आयोजनामा पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल तथा सहभागी खेलाडीहरू सम्मानित भएका हुन् । धरान–१६ स्थित जुडो सङ्घको भवन रङ्गशालामा कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई सम्मान गरिएको हो ।

धरानबाट ५ जना खेलाडी सहभागीमध्ये दीपिका अचार्जु, दिव्या लिम्बू र सुमन्ता राईले रजत पदक जितेका थिए । कार्यक्रममा प्रशिक्षक रोशनी राईसहित रिस्ता राई र राहुल भुजेललाई पनि सम्मान गरिएको जुडो सङ्घका सचिव रिकेश विश्वकर्माले बताए । 

उनीहरूलाई धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सम्मान–पत्र प्रदान गरे । उनले जुडो खेललाई बजेटमा सम्बोधन गर्ने बताए । सुनसरी जिल्ला जुडो सङ्घले आगामी आर्थिक वर्षमा कोशी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने सचिव विश्वकर्माले बताए । सङ्घका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) कोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।