धरान । धरान–५ स्थित डीपी बिलिभर्स इङ्लिस स्कुलका विद्यार्थी तथा अभिभावकहरूको छालारोगबारे सचेतना तथा स्क्रिनिङ गरिएको छ ।

स्कुलका प्रिन्सिपल सन्जीप बान्तवाका अनुसार नेपाल कुष्ठरोग फेलोसिपका कार्यकारी निर्देशक एन्ड्रयू सिथ्लिङले छालारोगको सङ्क्रमण, रोकथामबारे जानकारी दिएका थिए । त्यसक्रममा विद्यार्थीहरूलाई जनचेतनामूलक वृत्तचित्र ‘ओहो’ पनि देखाइएको थियो ।

एनएलएफका कार्यक्रम संयोजक घनश्याम लामा, समुदाय परिचालनकर्ता सिर्जना चौधरी र सुशील चौधरीले स्क्रिनिङ गरेका थिए । त्यसक्रममा ८ जना विद्यार्थीहरूमा छालाको रोगको देखिएको थियो । छालारोगको सङ्क्रमण देखिएका विद्यार्थीहरूको अभिभावकलाई जानकारीसहित सफाइबारे जानकारी दिइएको थियो । कक्षा १ देखि ९ सम्मका करिब २ सय ५० विद्यार्थीहरू सहभागी रहेको शिक्षक वीरेन्द्र लिङ्देनले जानकारी दिए ।

स्कुलका सहायक प्रिन्सिपल कुर्मित (लेप्चा) बान्तवाले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए । प्रिन्सिपल बान्तवाले छालामा विभिन्न खालका रोगको सङ्क्रमण हुने भएकाले पनि त्यसबारे सचेतना जगाउन कार्यक्रम गरिएको बताए ।