पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाप्सिबुङका अग्निपीडित प्रेम नेम्वाङको परिवारलाई काङ्ग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नयाँ घर निर्माण गरिदिएका छन् ।
गत वैशाख २८ गते भएको आगलागीबाट घरसहित छोरासमेत गुमाएका नेम्वाङ परिवारलाई आङदेम्वेले नयाँ घर बनाइदिएका हुन् । नेम्वाङको घरमा आगलागी हुँदा उनका छोरा मक्खनबहादुरको जलेर मृत्यु भएको थियो ।
घर र छोरो गुमाएपछि बारीमा पाल लगाएर गुजारा चलाउँदै आएका नेम्वाङ परिवारलाई जनसेवा समाज पाँचथरको पहलमा नयाँ घर निर्माण गरिएको हो । घर निर्माणका लागि आङदेम्वेले ५५ हजार नगद सहयोग गरेका थिए । यस्तै श्रमिक र जस्तापाता फाल्गुनन्द–१ को वडा कार्यालयले उपलब्ध गराएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
नेम्वाङका श्रीमती र छोरी छन् । उनकी छोरीमा पनि बौद्धिक अपाङ्गता छ । उनीहरूका लागि निर्माण गरिएको घर सोमबार हस्तान्तरण गरिएको छ । घर हस्तान्तरण कार्यक्रममा बोल्दै आङ्देम्वेले पीडितहरूलाई गाँस, बास र कपासको जोहोका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
सोही अवसरमा प्रदेश सभा सांसद् मैया श्रेष्ठ लावती, वडाध्यक्ष र होमप्रसाद आङ्देम्वेलगायतको उपस्थिति थियो । काठ, ढुङ्गा, माटो र टिनको प्रयोग गरेर बनाइएको घरमा एक तला र २ वटा कोठा छन् । यसैबीच जिल्लामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमले नेम्वाङ परिवारलाई राहतस्वरूप २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको थियो ।