धरान । भारतीय नम्बर प्लेटको सुमो गाडी दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटाकी प्रिस्किला तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तामाङको सोमबार निधन भएको प्रहरीले जनाएको छ । उनीसहित उक्त गाडीमा सवार तीनजना घाइते भएका थिए । जसमध्ये प्रिस्किला गम्भीर घाइते भएकी थिइन् । दुर्घटना भएको गाडी हटाउने क्रममा प्रहरीले १ सय केजी गाँजा पनि बरामद गरेको थियो । गत जेठ २६ गते धनकुटा नगरपालिका–९ खुरिलामा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको सुमो टाटा दुर्घटना भएको थियो ।
धनकुटा नगरपालिका–४ भोटे चौतारा घर भएकी १९ वर्षीया प्रिस्किलाको मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत रहेकी थिइन् ।
गाडीमा ५ जना सवार थिए भने दुई जना मोरङ जहदा गाउँपालिका–३ का २३ वर्षीय अजय महला र जहदा–४ का २४ वर्षीय सुरेश मुखिया सामान्य घाइते बनेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चालक र थप एक जना भारतीय नागरिक फरार रहेका छन् । गाडीबाट प्रहरीले चालकको लाइसेन्स बरामद गरेको थियो ।