विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
मोरङको बेलबारी नगरपालिकाको डाँगीहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले एकजुट भएर अघि बढेमात्र सामुदायिक पहिचान स्थापित हुने भएकाले थारु सामुदायहरू फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले थारु समुदायले विगतदेखि नै आफ्नो पहिचान स्थापित गर्न विभिन्न सङ्घर्षहरू गर्दै आएको बताए । थारुहरूको पहिचान गुम्नबाट जोगाउन सामुदायिक संस्थाको रूपमा थारु कल्याणकारिणी सभाले बिशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
समुदायको सर्वपक्षीय विकासका निम्ति सामाजिक चेतनाको अभियानसमेत चलाउनु पर्नेमा मन्त्री मोदीले जोड दिए । मन्त्री मोदीले थारुहरू भूमिपुत्र रहेको उल्लेख गर्दै विगतमा मलेरियासँग लड्दै आएकाले थारु समुदायका अधिकांश व्यक्तिहरूको जिनमा सिकल सिलेनिमियाको गम्भीर समस्या देखिएको उनको भनाइ थियो ।
मन्त्री मोदीले थारु समुदायको उन्नयनका निम्ति आफू मातहतको मन्त्रालयबाट हुनसक्नेसम्मको सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य दिलिपकुमार गच्छदार, प्रेदश सभा सदस्यद्वय चुमनलाल तवदार, जयप्रकाश चौधरी र आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, नेपाली काङ्ग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझी लगायतका वक्ताले थारु समुदायको योगदान र अवस्थाका विषयमा बोलेका थिए ।
उनीहरूले कल्याणकारिणी सभाले आफ्ना गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने जोड दिए । सभाको १० औँं जिल्ला अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने सभाका मोरङ अध्यक्ष प्रदीप भगतले जानकारी दिए ।