पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिती र पाँचथर जिल्ला बृद्धिचाल संघको आयोजनामा फिदिम बजारमा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
आगामी असार १५ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो । जिल्ला खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ । प्रतियोगितालाई कोशी प्रदेश बुद्धिचाल संघले प्राविधिक सहयोग गर्ने भएको छ ।
विभिन्न चार विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरुलाई एक लाख ६६ हजार नगद पुरस्कार प्रदान गर्ने खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । उनका अनुसार खुल्ला अन्तर्गत प्रथमदेखि तेह्रौ स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको क्रमश प्रथम नगद २५ हजार, दोस्रो नगद २० हजार, तेस्रो नगद १५ हजार, चौथो नगद १२ हजार, पाँचौ नगद १० हजार प्रदान गर्नेछ । त्यस्तै छैठौं हुनेले नगद ९ हजार, सातौं नगद ८ हजार, आठौ नगद ७ हजार र नवौ देखि तेह्रौ सम्मले ६ हजारको दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट बयोबृद्धा तर्फ ( ५५ वर्ष माथि) नगद ६ हजार, उत्कृष्ट जुनियर तर्फ (१६ वर्ष मुनी) र महिला तर्फ प्रथम हुनेले समान ६ हजार पुरस्कार पाउनेछन् । जनप्रतिनिधि तर्फ उत्कृष्ट हुनेले नगद ६ हजार पुरस्कार पाउने मोक्तानले बताए ।
प्रतियोगिता संचालन गर्न पाँच लाख वढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा पाँचथर जिल्ला भरीका १०० जनाभन्दा वढी खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ ।