भद्रपुर । झापाको भद्रपुरमा एक जना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् ।

भद्रपुर–८ मा रहेको एसियन प्लाइउड उद्योगमा कार्यरत भारत किसनगञ्ज भातगाउँ गलगलिया–२ लकली डिपु बस्ने अन्दाजी ५५ वर्षीय मोहम्मद हफिज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार रातिसम्म काम गरी उद्योगकै कोठामा सुतेका उनी शनिबार अबेरसम्म बाहिर ननिस्केपछि अन्य कामदारले हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

मृतक ५ वर्षदेखि उद्योगमा कार्यरत रहेको जानकारी पाएको उनले बताए । घटनापछि शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए ।