धरान । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।

फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङ्ला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साँघु, फेम्बु, लेलेप, हेल्लोकलगायत क्षेत्र सम्पर्कविहीन भएको छ । मोबाइल सेवा बन्द हुँदा सूचना आदान–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका–६ का रोशन लिम्बूले बताए ।

उनले भने, ‘अहिले बाढीपहिरो गइरहेको छ, आफ्ना आफन्तलाई फोन गरौँ भने नेटवर्क छैन ।’ फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध हुँदा सूचना आदान–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिकाका दिलनकुमार पतङ्वाले बताए । उनले भने, ‘चार दिन भइसक्यो, गाउँपालिका सञ्चारविहीन भएको, सूचना आदान–प्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहसमेत अस्तव्यस्त भएको छ ।’

ताप्लेजुङमा निरन्तर वर्षाको क्रम जारी छ । एक सातादेखि घाम लाग्न सकेको छैन । साँझ–बिहान पानी परिरहेको छ । बाढीपहिरोले कहाँ–कति क्षति ग¥यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना प्राप्त गर्न समस्या भएको पतङ्वाले बताए । उनले भने, ‘गाउँपालिकामा हामी सञ्चारविहीन भएर बसेका छौँ, न त फोन आउँछ, न जान्छ, सूचनाविहीन बस्नुपरेको छ ।’

फक्ताङ्लुङ गाउँपालिकामा रहेको बाहेक अरू सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । महतोले भने, ‘ताप्लेजुङका टावर सबै सञ्चालनमा छन् । फक्ताङ्लुङ गाउँपालिकाको मुरिङ्लामा रहेको टावरमा नै समस्या भएको छ ।’

टावरमा के समस्या आएको हो, त्यसको अध्ययन गर्न नेपाल दूरसञ्चार कार्यालय इलामबाट प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्र टावर मर्मत हुने सूचना अधिकारी महतोले बताए । उनले भने, ‘हामीले इलाम कार्यालयमा जानकारी गराइसकेका छौँ । अब कहिले आउँछन् प्राविधिक त्यसपछि सञ्चालन हुन्छ ।’

सञ्चार सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम साथै बजेट विनियोजनको काम भइरहेको समय समुदायको सल्लाह–सुझाव लिने समयमा गाउँपालिका सञ्चारविहीन हुँदा आगामी आ.व.को योजना बनाउन सास्ती भएको गाउँपालिकाले जनाएको छ । (रासस)