धरान । नागरिकता पाउनुपर्ने माग राखी आत्मदाहको प्रयास गरेका युवालाई जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता प्रदान गरेको छ ।
मोरङ कटहरी गाउँपालिका– ४ का २५ वर्षीय निरजकुमार कामतलाई सोमबार नेपाली नागरिकताको प्रमाण–पत्र दिइएको हो । नागरिकता पाउनुपर्ने माग राख्दै उनले जेठ ३० गते शरीरमा पेटूोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । उनको नागरिकता नम्बर ०५–०१–८०–०३९४१ रहेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई नागरिकता प्रदान गरेका थिए । नागरिकता प्रदान गर्ने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू शरदकुमार पोखरेल र प्रदीप साहसमेत उपस्थित रहेका थिए ।
उनले काठमाडौँको माइतीघर मण्डलामा भएको आन्दोनलको क्रममा आफैले आफैलाई मार्ने प्रयास गरेका थिए । यस घटनापश्चात् नै उनको मागलाई विशेष रूपमा हेरिएको थियो । उनले बुबा किसुनदेव कामतसहित आवश्यक कागजात लिई जिल्ला प्रशासन पुगेका थिए । उनका हजुरबुबाले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका थिए भने हजुरआमाको वंशजको आधारमा नागरिकता रहेको थियो । आमा गुलावदेवी चौधरीको पनि वंशजकै आधारमा नागरिकता छ । तर, उनको नागरिकता बन्न नसकेपछि उनी पीडित बन्दै आएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएपछि त्यसको विरोधमा नागरिकता पीडित सङ्घर्ष समिति गठन गर्दै आन्दोलन थालिएको थियो । उनी समितिमा उपाध्यक्ष थिए । मोरङ प्रशासनका प्रजिअ यादवले जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन थालिएको बताए ।
मोरङको तीन स्थानमा नागरिकता वितरण गरिँदै आएको छ । सोमबारदेखि वंशजको आधारमा नागरिकता दिन थालिएको प्रजिअ यादवले जानकारी दिए । उनका अनुसार कानूनी प्रक्रिया पूरा गरेर आउने जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण थालिएको छ ।