विजयपुर । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानको आयोजनामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार आन्तरिक राजस्व कार्यालय धरानको सहकार्यमा भएको कार्यक्रममा वर्तमान कर व्यवस्था एवम् आर्थिक विधेयक २०८० मा भएका प्रमुख प्रावधानका विषयमा आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत गोविन्द पौडेलले सहजीकरण गरेका थिए ।

यस्तै भिसिटीएस (सवारी साधन र कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) का विषयमा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले आन्तरिक राजस्व कार्यालय र धरान नगरले करको दायरा बढाउन लाग्नुपर्ने बताइन् ।

महासङ्घका धरान अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन चन्द्रबहादुर सुवेदीले गरेका थिए । कार्यक्रममा महासङ्घ धरानका इन्चार्जसहित १ सय उद्योगी व्यवसायीको उपस्थिति रहेको महासङ्घका सचिव दीपेन्द्र निरौलाले जानकारी दिए ।