धनकुटा । वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेश मै बसेर केही गर्छु भन्ने व्यवसायीहरूको क्षमता विकासको लागि मंगलबार यहाँ सचेतना गोष्ठी सञ्चालन गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा धनकुटा नगरपालिकाको १० वटै वडामा सञ्चालित स्वरोजगार कार्यक्रममा सहभागी व्यवसायीहरू साँझ क्षमता विकास तथा दिगोपना सम्बन्धी सचेतना गोष्ठी सञ्चालन गरिएको हो । 

नेपाल विकास अध्ययन संस्थान (निड्स) को आयोजनामा सम्पन्न सचेतना गोष्ठीमा बाेल्दै अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) का १ नम्बर प्रदेशका संयोजक पवित्रा सुब्बाले धनकुटा नगर क्षेत्रमा स्वरोजगार कार्यक्रमको लागि १८६ जनाले भाग लिएको बताए । उनले २७ महिना अघि देखी सञ्चालन गरिएको स्वरोजगार कार्यक्रममा सहभागीहरूलाई व्यवसायी बनाउन अनुदान सहयोग गरिएको बताइन । सुरुको चरणमा सहभागी १ सय ८६ मध्ये १८ जनाले दोस्रो किस्तासम्म आइपुग्दा छोडी सकेको भन्दै संयोजक सुब्बाले गुनासो गरिन । दोस्रो किस्ताको लागि १ सय ६८ जना मात्र योग्य भएको सुब्बाले बताइन । 

उनले अनुगमनको क्रममा स्वरोजगार कार्यक्रममा सहभागी मध्ये कसै कसैले भने सिन्को नभाँचेको गुनासो गरिन । सुब्बाले भनिन्–’अब तेस्रो किस्ता दिने बेला भई सक्यो, आजको कार्यक्रममा नआउनेलाई भने विचार गर्नै पर्छ ।’ आफ्नो व्यवसाय कसरी राम्रो बनाउने भन्ने विषयमा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीसँग समन्वय गरेर अघि बढ्न सुब्बाले सुझाव दिइन । जो जसले जुनसुकै पेसा व्यवसाय अपनाए पनि राम्रोसँग अघि बढाउन जरुरी रहेकोले सिरिस र गम्भीरतापूर्वक काम गर्न सहभागीलाई जोड दिए । 

नेपाल विकास अध्ययन संस्थान (निड्स) का प्रदेश नं.१ का संयोजक महेन्द्र राईले प्रभासबाट फर्किएकाहरूको आय–आर्जनलाई सुनिश्चित गर्न धनकुटा नगरपालिकामा २ वर्ष अघि देखि हातेमालो कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले हातेमालो कार्यक्रममा सहभागी व्यवसायीहरूलाई पहिलो किस्ता ६५ हजार, दोस्रो किस्ता ३९ हजार, ७ सय ग्लोबल आईएमई वैंक हिले शाखा मार्फत भुक्तानी दिई सकिएको बताए । उनले तेस्रो किस्ता बापत पुनः हातेमालो कार्यक्रममा सहभागीहरूले पुनः ३९ हजार, ७ सय रुपैयाँ अनुदान पाउने बताए । 

संयोजक राईले भने–’तालिमको प्याकेज र व्यवसायलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सम्बन्धित वडामा समूह गठन गरिएको छ ।’ धनपा–३ र ४ मा समूह दर्ता भई सकेको छ भने बाँकी वडामा क्रमशः दर्ता गरिने छ । तेस्रो किस्ता अनुदान निकासा भई सकेपछि हातेमालो कार्यक्रम धनकुटा नगरपालिकालाई नै हस्तान्तरण गरिने संयोजक राईले बताए । 

 आइओएमसंगको सम्झौता बमोजिम किस्ता उपलब्ध गराउने ग्लोबल आईएमई वैंक हिले शाखाका प्रतिनिधि सुरज मिश्रले वित्तीय साक्षरता सम्बन्धी सहभागी साँझ सहजीकरण गरेका थिए । कार्यक्रममा धनकुटा न.पा.–६ का वडाध्यक्ष छत्रजंङ्ग कार्कीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।