वराहक्षेत्र । रुख कटान र काठ ओसार–पसारमा संलग्न भई फरार रहेका बेलका नगरपालिका–७ स्थित दूधकोसी सामुदायिक वन समूहका सचिव दिनेश राईले आत्मसमर्पण गरेका छन् । राईले मङ्गलबार वन कार्यलयमा आफै उपस्थित भएर समर्पण गरेका हुन् ।


उदयपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको १५ दिनपछि राईले आत्मसमर्पण गरेको जिल्ला वन कार्यालय गाईघाटका वन अधिकृत राजकुमार श्रेष्ठले बताए । सचिव राईलाई वन डिभिजन कार्यालय गाईघाटको नियन्त्रणमा राखिएको छ । मङ्गलबार नै अदालतबाट म्याद थप गराइएका राईलाई २५ दिनभित्रमा अदालतमा उपस्थित गराइने वन प्रमुख श्रेष्ठले जानकारी दिए ।

फरार रहेका अध्यक्ष मणिराज राई र निवर्तमान कोषाध्यक्ष ज्योति राईलाई पक्राउ गर्न कर्मचारी परिचालन गरिएको छ भने जिल्ला प्रहरीसँग समन्वय गरिएको उनले बताए । यता वनका अध्यक्ष राई मैनामैनी आसपासमा घुमिरहेको उजुरीकर्तामध्येका एक कलराज राईले बताए । करिब दुई महिनाअगाडिको सो घटनामा वनका अध्यक्ष, सचिव र कोषाध्यक्षले मिलेमतोमा वनको काँचो रुख कटान र बिक्री गर्न लागेको भनेर उपभोक्ताले उजुरी गरेपछि जिल्ला वनले उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर भई पक्राउ पुर्जी लिएको छ ।

उपभोक्ताहरू किरण, विशाल, मेसन, कलराज र दिलिप राईले जेठ २४ गते वन कार्यालयमा उजुरी दिएका थिए भने वनले जेठ २८ गते जिल्ला अदालत उदयपुरबाट आरोपी तीनै जनालाई पक्राउ गर्ने अनुमति–पत्र लिएको थियो । यता उपभोक्ता कलराज राईले जिल्ला वनले बरामद गरिएको साल र चिलाउने जातको काठमध्ये चिलाउने जातको काठ नलगेको बताए । करिब १४ सय क्यु.फिट रहेको सो काठ भौगोलिक विकटताले गर्दा निकाल्न नसिकएको भन्दै चाँडै व्यवस्थापन गरिने जिल्ला वन अधिकृत श्रेष्ठले बताए ।