विजयपुर । धरानमा मुस्लिम धर्मावलम्बीहरूको ‘इदगाह’ नहुँदा मस्जिदमा नै बकरिद (इदुल जोहा) मनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धरान–३ स्थित जामे मस्जिदमा मनाएका हुन् । धरान मुस्लिम एकता समाजका संयोजक फिरोज अलीका अनुसार इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदका दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेर मनाइन्छ । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिन्छ ।

संयोजक अलीले धरानमा इदगाह नहुँदा मस्जिदमा नै नमाज पढेर मनाएको बताए । उनले भने, ‘बकरिदमा इदगाहमा नमाज पढ्नु पर्ने हो । नहुँदा मस्जिदमा नै पढ्ने गरेका छौँ ।’ उनले मुस्लिम धर्मावलम्बीहरूलाई स्थानीय र प्रदेश सरकारले चासो नदिएको गुनासो गरे । उनले मदर्सा पनि मस्दिजमा नै सञ्चालन गर्दै आएको बताए ।