धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी अभ्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डक्टर्स महिला र पुरुष दुवै टिमले उपाधि चुमेका छन् ।
बिहीबार भएको फाइनल खेलमा महिलातर्फ डक्टर्स टिमले आयोजक अभ्युदय थर्ड इयर टिमलाई २०–४ र पुरुषतर्फ डाक्टर्स टिमले आयोजक अभ्युदयलाई ४७–२० अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन ।
फाइनल खेलमा सहज जित निकालेको डक्टर्स टिमले महिलातर्फको खेलमा डक्टर्स र अभ्युदयले प्रत्यक क्वाटरमा ४–०, ६–०, ८–२ र २–२ अंक जोडेका थिए । यसै गरी पुरुषतर्फ डक्टर्स र अभ्युदयले ११–३, १८–३, १०–५ र ८–९ अंक जोडे ।
खेलमा महिलातर्फ डक्टर्स टिमका डा. आशा राईले व्यक्तिगत १८ अंक जोडिन् भने पुरुषतर्फ डक्टर्स टिमका डा अभिनव खम्बूले १६ अंक जोडे । विजेताहरूलाई अभ्युदय स्पोर्टस् फेस्ट २०२३ को समापन कार्यक्रममा पुरस्कार वितरण गरिने बास्केटबल प्रतियोगिता संयोजक हार्दिक गोयलले जानकारी गराए ।
थर्ड इयर अभ्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स् फेस्ट २०२३ अन्तर्गत क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस, चेस, पावरलिफ्टिङ, रिले रेस, क्यारम बोर्ड , अनलाइन गेम पबजी, सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुषतर्फ ६–६ टिमले सहभागिता जनाएका थिए ।
धरान बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न बास्केटबल प्रतियोगिताको सम्पूर्ण खेल बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बास्केटबल कोर्टमा आयोजना गरिएको थियो ।