धरान । कोशी प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा एक महिलासहित दुई जनाको ज्यान गएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । आइतबार बिहान ना.६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ जाँदै गरेको को.२ ह २२९३ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक गम्भीर घाइते भएका थिए । पथरीशनिश्चरे नगरपालिका–२ का अटो चालक भीमशरण तामाङको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । ट्रक र ट्रक चालक झापा बिर्तामोड नगरपालिका–४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ट्रक पूर्वतर्फ जाँदै गरेको अवस्थामा विपरीत दिशामा रहेको अटोलाई ठक्कर दिएको थियो ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–९ मा अटोबाट झरेर सोही नगरपालिका–७ की २२ वर्षीया कमला खतिवडाको ज्यान गएको छ । प्रदेश नम्बर २–०१–००१ ह ३८१ नम्बरको अटोमा सवार रहेकी खतिवडाको अचानक कागजपत्र खसेपछि टिप्नका लागि गुडिरहेको अटोबाट झरेकी थिइन् । उनी गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो । जिल्ला अस्पतालले रिफर गरेपश्चात् मोरङको विराट नर्सिङ होममा लगिएको थियो ।

तर, त्यहाँ पनि उपचार हुन नसकेपछि पुनः घर फर्काएपश्चात् उनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अटो र अटो चालक त्रियुगा नगरपालिका–३ का ३५ वर्षीय यमबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण कागजपत्र खसेपछि उनी अटो रोक्नुभन्दा अगाडि नै झरेको प्रहरीले जनाएको छ ।