इनरुवा । लामो समयको आश्वासनका बावजुद सडक नबनाएको भन्दै इनरुवा–३ सखुवागाछीका युवाले नगरप्रमुखलाई कालो मोसो दल्ने चेतावनी दिएका छन् ।

सडक जीर्ण भई आवत–जावतमा समस्या झेल्दासमेत नगरपालिकाले बेवास्ता गरेको भन्दै स्थानीयले मेयरसहितका जनप्रतिनिधिलाई मोसो दल्ने चेतावनी दिएका हुन् । सखुवागाछी–मधेशा सडक– खण्ड अवरुद्ध गर्दै स्थानीयले आन्दोलनका कार्यक्रम चरणबद्ध अघि बढाउने बताएका छन् । उनीहरूले आफूहरूको आन्दोलन नगरप्रमुख केदार भण्डारीसहित वडा नम्बर ३ का अध्यक्ष रमेश श्रेष्ठ, वडा ६ का अध्यक्ष सुमन थापाविरुद्ध भएको बताए ।

आन्दोलित स्थानीयको नेतृत्व गरेका युवा दीपेश र जोसेप दुलालले नगरपालिकाले सडक निर्माण नगरे आन्दोलनलाई सशक्त रूपले अघि बढाउने बताए ।

उनीहरूले माग तत्काल सुनुवाइ नभए नगरप्रमुखसहित वडाध्यक्षहरूलाई कालो मोसो दल्नेदेखि जुत्ताको माला लगाउनेसम्मका कार्यक्रममा उत्रने सार्वजनिक चेतावनी दिए ।

सडक अवरोधको उक्त कार्यक्रममा युवादेखि महिला र ज्येष्ठ नागरिकसम्मको उपस्थिति रहेको थियो । उनीहरू सबै मेयर र वडाध्यक्ष विरुद्ध विरोध र नाराबाजीमा उत्रिएका थिए । उनीहरूले आफूहरूको माग पटक–पटक बेवास्ता भएकाले ठोस निकास ननिस्केसम्म सडक अवरोध जारी राख्ने बताए ।