विराटनगर । यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा पक्राउ परेका चार जनालाई मोरङ अदालतले धरौटीमा छोड्न सोमबार आदेश गरेको छ ।

अदालतले पक्राउ परेका चार जनालाई जनही एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो । एक जना नाबालकलाई सामान्य तारेखमा छाडेको छ । जेठ २५ गते साढे ३ बजे उर्लाबारी नगरपालिका वडा नं..३ नयाँ मङ्गलबारेस्थित सडक–खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ ख ३०७३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ०१–०१–०१३ प २९० नं.को स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको विषयलाई लिएर बसमा तोडफोड एवम् आगजनी भएको थियो ।

उक्त कसूरमा ५ जनालाई पक्राउ गरी आपराधिक उपद्रव कसूर अन्तर्गत म्याद थप गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । पथरीशनिश्चरे नगरपालिका बस्ने एक जना नाबालक साधारण तारेखमा छुटेको र अन्य चार जना  जनही १ लाख धरौटीमा छुटेको मोरङ अदालतले जनाएको छ ।

धरौटीमा छुट्नेहरूमा पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ सम्झना चोक बस्ने वर्ष २८ का जीवन थापा, सोही ठाउँका वर्ष २० का मानव भन्ने अनमोल राई, वर्ष २० का आयुस रिजाल र वर्ष २० का गोरे भन्ने मोहनकुमार मगर रहेका छन् ।