विजयपुर । कोशी प्रदेशका विभिन्न स्थानमा ट्राफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सप्ताह सुरु भएको हो ।
मङ्गलबार धरानमा बृहत् प्रभातफेरीसहित सप्ताह सुरु भएको हो । धरान–१२ पब्लिक स्कुलबाट प्रभात फेरी सुरु भई धरान–७ सिद्धि नेवा परिषद्मा पुगेको थियो । प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख भीम दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा र सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुईजनालाई हेल्मेट लगाइदिए । ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख बेघाले सर्वसाधारणको ज्यान जोगाउनका लागि ट्राफिक प्रहरीले कडाइ गरेको बताए । उनले मादक पदार्थ सेवन नगरी सवारी चलाउन आग्रह गरे । प्रजिअ पाण्डेले सडक निर्माणको क्रममा नै गुणस्तरीय बनाउनुपर्ने बताइन् । उनले स्थानीय तहहरूको प्रमुख भूमिका हुने बताइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन १४ मा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको बताए ।
यस्तै झापामा पनि ट्राफिक सप्ताह सुरु भएको छ । जिल्लास्थित सुरक्षा निकाय, विद्यार्थी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा बिर्तामोडमा आयोजित ¥यालीपश्चात् ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो । समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन् । उनले एक बालिकालाई ट्राफिक जनचेतनामूलक नारा लेखिएको हेल्मेट लगाइदिँदै कार्यक्रमको शुभारम्भ गरेका थिए । असार १९ गते प्रभातफेरी र अभियानको उद्घाटन, २० गते तीव्र गति नियन्त्रण तथा पार्किङ निषेध, २१ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, २२ गते सिटी तथा ई–रिक्सा र स्कुल बसलाई प्रशिक्षण, २३ गते मापसे तथा लापसे चेकिङ, २४ गते चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच र २५ गते अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने झापा ट्राफिकका यामकुमार खड्काले जानकारी दिए ।
‘सात दिन, सात काम, सडक सुरक्षा हाम्रो अभियान’ नारासहित ट्राफिक सप्ताह शुभारम्भ गरिएको छ । कार्यक्रममा नेपाल यातायता व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य टङ्क दवाडीले सवारी दुर्घटना न्यूनीकरण सबैको साझा दायित्व भएको बताए । कार्यक्रमका प्रमुख अतिथि प्रजिअ शिवराम पोखरेलले सवारी दुर्घटना न्यूनीकरण नै अभियानको मुख्य उद्देश्य भएको बताए । उनले दुर्घटना कसैको निमित्त प्रिय नहुने भन्दै सबैको प्रयासबाट न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।