जेष्ठ नागरिकका लागि साइकल यात्रा भन्ने नारासहित धरानमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ ।
संसारभरका साइकल यात्रीहरूले पर्वको रूपमा विभिन्न सामाजिक कार्य गर्दै मनाउने १५ जुलाई ‘असार ३० गते’ का दिन धरानका साइकल यात्रीहरूले समेत ‘कोरा धरान २०२३’ कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
मंगलबार धरान २ स्थित होटेल नवयुगमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराइएको छ । कोरा धरान २०२३ कमिटीका संयोजक विनयलाल श्रेष्ठले धरानका वृद्धाश्रमको सहयोगार्थ ३८ किलोमिटर साइकल यात्रा ‘कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गर्न लागेको बताए ।
धरान १८ स्थित बौद्ध गुम्बाबाट साइकल यात्राको प्रारम्भ गरी जानकी चोक हुँदै विजयपुर– नीराजन बस्ती– देवी गाउँ– निशाने डाँडा– सुमनटार– साउने ठिंगाबारी– देउराली– महादेव चोक– श्याम चोक– बरगाँछी– धनकुटे रोड हुँदै पुनः बौद्ध गुम्बामा पुगेर यात्रा समापन गरिने छ ।
संयोजक श्रेष्ठले साइक्लिङ च्यालेन्जमा जो कोही पनि सहभागी हुन सक्ने बताए । सहभागिता जनाउनका लागी अनिवार्य रूपमा फारम भर्नु पर्नेछ । सय रुपैयाँ दस्तुर तिरी अनलाइन तथा भौतिक उपस्थितिमा फारम भर्न सकिने श्रेष्ठले बताए । सहयोगार्थ साइकल यात्रा भएकाले सहभागीले इच्छाएको सहयोग गर्न सक्नेछन् ।
साइकल ¥यालीबाट जुटेको रकम धरानका वृद्धाश्रममा आवश्यक सहयोग गर्ने साथै धरान नगरप्रमुख हर्क साम्पाङको ज्येष्ठ नागरिक अभियान र अस्पताल निर्माण अभियानलाई समेत सहयोग गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
कोरा साइक्लिङ च्यालेन्जमा धरानसँगै सुन्दरहरैँचा, इटहरी, विराटनगर, काठमाडौँ, ललितपुरलगायतका क्षेत्रबाट दुई सय साइकल यात्रीको सहभागिता रहने छ । विभिन्न सहयोगीबाट सहयोग रकम जुटाएर गरिएको साइकल यात्रामा सहभागीलाई, टिसर्ट, प्रमाण–पत्रका साथै खाना र खाजा पनि प्रदान गरिने छ ।
बौद्ध धर्मालम्बीहरूले धार्मिक आस्थाका साथ गुम्बाहरूमा परिक्रमा गरी दान अथवा सहयोग गर्ने प्रचलनलाई ‘कोरा’ भनिने संयोजक श्रेष्ठले बताए । ‘पैदल यात्रा गर्दै भिक्षुहरूले गुम्बा स्तुपाहरूमा परिक्रमा गरी दान अथवा सहयोग गर्ने संस्कृतिलाई कोरा भनिन्छ ।’ संयोजक श्रेष्ठले भने ।
नेपालमा आएको विनाशकारी भूकम्पपछि बुद्धिष्ट कोरा संस्कृतिलाई साइकल यात्रीहरूले बृहत् गरी सहयोगका लागि साइकल यात्रा गर्ने गरेको आयोजकले जानकारी दिएको छ ।