विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् । 

नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत सरोजले छात्र तर्फ र विराटनगरस्थित आदर्श स्कुलमा अध्ययनरत अंशुले उपाधि जित्न सफल भएका हुन् । 

पाँच किलोमिटरको दुरी सरोजले १६ मिनेट २५ सेकेन्डमा पार गरेका थिए भने अंशुले १८ मिनेट ५० सेकेन्डमा पार गरेका थिए । यस्तै प्रतियोगिताको छात्रातर्फको द्वितीय धरान हिमालय मेघाका किरण लिम्बु, तृतीय सिद्धार्थ पब्लिक हाई स्कुलका प्रसान तामाङ घोषित भए । छात्रतर्फको चौथो अमर यादवर पाँचौँ नवीन तामाङ भए ।

यसै गरी छात्रातर्फको द्वितीय आदर्श स्कुलकी  अमृता राजवंशी, तृतीय शुस्मीता बस्नेत, चौथो अंजली मुखिया र पाँचौँ अन्जु खवास भइन् । 

प्रतियोगिताको छात्र र छात्रातर्फको प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँको साथै ट्रफी पाए । 

जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा एक सय ५० बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले जानकारी दिए । विजेता हुने खेलाडीहरूलाई मदन भण्डारी फाउन्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, साना डङ्गोल, युवा व्यवसायी मनोज विक्रम शाहलगायतले खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।