धरान । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी सोमबार र मङ्गलबार तुलनात्मक रूपमा बढी पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबारबाट केही मात्रामा कम वर्षा भएको छ । उनको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम् वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।