धनकुटा । आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा धनकुटाका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुका साथै केहीले भने रामायण वाचन गरेका छन् ।
सल्लेरी साहित्य सङ्गमले शुक्रबार आयोजना गरेको कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए ।
कवि मुकुन्द प्रयासले ‘भानुभक्तहरू’ शीर्षकको कविताबाट व्यङ्ग्यभाव प्रकट गरेका थिए । यस्तै कवि निर्मला कुँवरले आफ्ना पाँच मुक्तक प्रस्तुत गरेकी थिइन् । अर्का कवि अनिल सुवेदीले ‘दास एक मनुष्य’ शीर्षकको मानव विसङ्गतिप्रति चिरफार गरेका थिए ।
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका अध्यक्षसमेत रहेका कवि घनश्याम बराल औलालीले भानुभक्तबाट रचित रामायणका श्लोक र आफ्नो स्वतन्त्र सिर्जना वाचन गरे ।
सह–प्राध्यापक डा. यज्ञप्रसाद गुरागाईंले भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । सो अवसरमा सावित्री अधिकारी, मञ्जु गुरागाईं, लक्ष्मी अधिकारी, दोर्णप्रसाद गुरागाईं, सन्तवीर लामा, रमेश अधिकारीलगायत १६ जनाले सिर्जना वाचन गरेका थिए ।