वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले गैरसरकारी संस्था लुम्बिनी गार्डेन फाउन्डेसनलाई जग्गा लिजमा दिने कुनै सम्झौता नभएको बताएको छ ।
नगरपालिकाले शनिबार नगरपालिकामा आकस्मिक सर्वदलीय बैठक आयोजना गरेर प्रचारमा आएजस्तो कुनै सम्झौता नभएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ स्थित कोसी टप्पुको २५ सय बिघा ९९ वर्षको लागि लिजमा दिन लागिएको खबर सार्वजनिक भएपछि नगरपालिकाले आकस्मिक सर्वदलीय बैठक बोलाएको थियो ।
जेठ २५ गते नगरपालिकामा आएको स्पेनको गैरसरकारी संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले नगरपालिकासँग भगिनी सम्बन्ध मात्र कायम गर्ने सम्झौता गरेको नगरप्रमुखद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शनिबार यही विषयलाई लिएर नगरका सबै राजनीतिक दल र वडाध्यक्षहरूको बैठक बसेको थियो । बैठकमा नेकपा (एमाले) नगर सचिव राजेन्द्र कार्की, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि गणेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी नगर संयोजक कल्याण विष्ट, वडानम्बर ६ का संयोजक अर्जुन विष्ट, नेकपा (एकीकृत समाजवादी) का पर्शुराम आचार्य, यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिध इन्द्रबहादुर भुजेल र जनता समाजवादी पार्टीका गोपाल विश्वकर्मा उपस्थिति रहेको थियो ।
बैठकपछि प्रतिक्रिया दिँदै नगरप्रमुख रमेश कार्कीले जनताको हित विपरीत कुनै काम नगरिने भन्दै जग्गा दिने÷नदिने भन्ने अधिकार स्थानीय जनताको भएको भन्दै यसभन्दा एक कदम पछाडि नहट्ने बताए ।
वराहक्षेत्रवासीको हित सर्वोपरी भएको र त्यसबाहेक कुनै पनि सम्झौता नगरिने स्पष्ट गर्दै सार्वजनिक सम्पत्तिको लागि नगरपालिका र मेयर सदैव तत्पर रहेको बताए ।