धरान । धरानमा कोरा राइड च्यालेन्ज २०८० सम्पन्न भएको छ । धार्मिकस्थलहरूको परिक्रमा गरिनुलाई कोरा भनिन्छ ।
सोही नामबाट कोरा राइड कमिटी २०२३ गठन गर्दै धरानका धार्मिक क्षेत्रहरूको शनिबार परिक्रमा गरिएको हो । करिब ३८ किलोमिटर कोरा राइड च्यालेन्जमा करिब दुई सयको हाराहारीमा साइकल राइडर्सहरू सहभागी रहेका थिए ।

धरान–१८ को बुद्धचोकको गुम्बाबाट सुरु भई धरानका धार्मिकस्थलहरूको परिक्रमा गरिएको थियो । कोरा राइड च्यालेन्जका संयोजक विनयलाल श्रेष्ठले धरानको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारका लागि कार्यक्रम गरिएको बताए । कोरा च्यालेन्जमा सहभागीलाई धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुर क्षेत्रमा स्वागत गरेका थिए । उनले साइकल राइडर्सलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

च्यालेन्जमा महिला र पुरुष राइडर्सहरू सहभागी भएका थिए । त्यस्तै राइडर्सहरूलाई हौसला प्रदान गर्नका लागि नेवार समुदायको सांस्कृतिक बाजा धिमे बाजाले सहभागीलाई स्वागत गरेका थिए । यस्तै दन्तकाली माध्यमिक विद्यालय स्काउटले पनि सम्मान गरेको थियो ।

प्रतियोगितामा सहभागीहरूबाट एक सय रुपैयाँ सहभागी शुल्क लिइएको थियो भने सोही शुल्कबाटै खाजा, खाना साथै बिमा पनि गरिएको संयोजक विनयलालले जानकारी दिए । च्यालेन्जबाट सङ्कलित रकममध्येबाट धरान उपमहानगरका प्रमुख हर्कराज राईले निर्माण गर्न लागेको वृद्धाश्रमलाई सहयोग गरिने उनले जनाए ।

बुद्धचोकको तमु गुम्बाबाट सुरु भएको च्यालेन्ज धरानका विभिन्न स्थानमा रहेका धार्मिकस्थलहरूको परिक्रमा गरी पुनः तमु गुम्बामा आई कार्यक्रम सम्पन्न भएको थियो ।