धनकुटा । धनकुटा नगरपालिका–३ निगालेमा रहेको आठपहरिया जातिको पूजाआराधना गर्ने ऐतिहासिक (मन्दिर) मार्गाको जग्गा कीर्ते गरी व्यक्तिको नाममा कायम गरेको भन्दै मालपोत कार्यालय धनकुटामा शुक्रबार उजुरी परेको छ ।
धनकुटा नगरपालिका साविक वडा नं.१ निगाले, हाल धनकुटा–३ को कित्ता नं.९३ को क्षेत्रफल १५ रोपनी २ आना २ पैसा जग्गा स्थानीय अमरबहादुर थापाले थाहै नदिई दर्ता गरेको भन्दै मन्दिरका पुजारीले उजुरी दिएका हुन् । मन्दिरका पुजारी दिलकुमार राईले २०३० सालको सर्भे नापीमा उक्त कित्ता नम्बर उल्लेख भएको जग्गाको फिल्डबुकमा मार्गा स्थान भनी लेखिएकोे बताए ।
२०६७ साल माघ २४ गते स्थानीय अमरबहादुर थापाले बदनियतपूर्ण ढङ्गले गाउँलेहरूसँग सर्जमिन मुचुल्कासमेत नगरी कीर्ते गरेर १५ रोपनी २ आना २ पैसा मार्गाको नामको जग्गामध्येबाट १२ रोपनी २ आना २ पैसा जग्गा आफ्नो नाममा पास गरेको भन्दै उनीविरुद्ध राईले उजुरी दिएका छन् । थापाले कित्ता नं.९३ को १२ रोपनी २ आना २ पैसा जग्गा आफ्नो नाममा कित्ताकाट गरी मालपोत कार्यालय धनकुटामा ५५६ कित्ता नं. कायम गरी पास गरेको राईले बताए । बाँकी तीन रोपनी जग्गा भने कि.नं. ५५७ मा मन्दिरकै नाममा छोडिदिएका छन् ।
अहिले मार्गास्थानको नाममा ३ रोपनी मात्र जग्गा रहेको देखिन्छ । यसरी मार्गा स्थानको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएकाले जग्गा नापजाँच ऐन २०१९ को दफा २ को ‘ङ’ तथा मालपोत ऐन २०३४ को दफा २ को ‘ख’ समेतको आधारमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न नपाइने कानूनी व्यवस्था छ । निवेदक राईले भने, ‘फिल्डबुकमा मार्गास्थान कायम रहेको सरकारी तथा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको पाइएकाले स्वतः कानूनीरूपमा बदर हुन्छ ।’
स्पष्ट कानूनी व्यवस्थाअनुसार सर्भे नापीको समयमा फिल्डबुकमा मार्गास्थान भनेर स्पष्ट उल्लेख भएकाले उक्त जग्गा निज अमरबहादुर थापाको नामबाट बदर गरी मार्गास्थान मन्दिरको नाममा १५ रोपनी २ आना २ पैसा जग्गा कायम गर्न निवेदनमा माग गरिएको छ । मालपोत कार्यालय धनकुटाका प्रमुख तारानाथ दङ्गालले भने, ‘वि.सं.०६५–६७ तिर तत्कालीन मालपोत कार्यालय प्रमुख सुरेश थपलियाको पालामा फिल्डबुक र श्रेस्ता कायम रहेको धेरै सार्वजनिक एवम् सरकारी, पर्ती जग्गा व्यक्तिको नाममा गएका छन्, त्यस्ता जग्गा कानूनी रूपमा बदर हुनेछन् ।’
उनले धनकुटा–३ को मार्गास्थान मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास भएको पाइएको छ । यसबारे कानूनी रूपमा अघि बढ्ने बताए । कार्यालय प्रमुख दङ्गालले २०६७ माघ २४ गते कि.नं.९३ उल्लेख भएको मार्गाको जग्गा कि.नं.५५६ र ५५७ मा कित्ताकाट गरेको पाइएको बताए । उनले कित्ता नं.५५६ मा १२ रोपनी, २ आना, २ पैसा र ५५७ कित्तामा ३ रोपनी जग्गा रजिष्टर गरिएको पाइएकोले सो बदर हुनुपर्ने बताए ।
उनले उजुरी परेकाले मार्गाको जग्गा पास गर्नेलाई मालपोत कार्यालयबाट तत्काल म्याद पत्र पठाएर सम्बन्धित मान्छे बोलाएर छानबिन गर्ने बताए । कार्यालय प्रमुख दङ्गालले भने, ‘यसरी कित्ताकाट गरिएका जग्गाहरू अहिलेसम्म कहाँ, कहाँ पुगेका छन्, हेरेर तत्काल सबैलाई म्याद पत्र पठाउनेछु ।’ धनकुटा नगरक्षेत्रमा आठपहरिया जातिको बसोबास र सघनताको आधारमा बाहुल्यता रहेको छ भने जनसङ्ख्या पनि उनीहरूकै बढी रहेको छ । किरात आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टबहादुर छोङ्देनले धनकुटा नगरक्षेत्रमा २८ वटाभन्दा पनि बढी मार्गास्थानहरू रहेको बताए । उनले अरू मार्गास्थानहरू पनि व्यक्तिले अतिक्रमण गरेका छन् कि भन्ने गम्भीर शङ्का उत्पन्न भएकाले संस्थाले तत्काल सबै मार्गाहरूको जग्गा फिल्डमा र मालपोत कार्यालयमा अनुगमन गर्ने बताए ।