झापाको बिर्तामोडस्थित बिर्ताबजार प्रहरी चौकी नजिकैबाट ग्याँससहित सिलिन्डर चोरी भएको छ । 

शनिबार बिहान खनाल स्टोरबाट ८ वटा ग्याँससहितको सिलिन्डर चोरी भएको मेची र पाथीभरा कम्पनीका सञ्चालक श्री खनालले जानकारी दिए । उनका अनुसार सीसी क्यामेरामा दुई जना व्यक्ति देखिएको बताए ।

नगरपालिका क्षेत्रभित्र चोरीका घटना दिनहुँ बढिरहेको उनको भनाइ छ । केही समययता बिर्तामोडका व्यापारीहरूलाई चोरले हदैसम्म दुःख दिइरहेको उनले बताए । खनाल स्टोर नजिकै अटोमा ग्याँस सिलिण्डर राखेर लगेको क्यामेराबाट देखिएको उनले जानकारी दिए । चोरी भएको घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी गरिएको छ । चोरीमा संलग्नहरूले सेतो वस्त्र लगाएको क्यामेरामा कैद भएको उनले बताए ।

यस्तै दृष्टि आँखाअगाडि रहेको पसलबाट पनि सिलिन्डर चोरी भएको छ । सुमन राजवंशीको पसलबाट सिलिन्डर चोरी भएको बताइएको छ ।

बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको लक्ष्मीनारायण स्टोरबाट असार १४ गते १० वटा सिलिन्डर चोरी भएको थियो । सञ्चालक खगेन्द्र चापागाईंको स्टोरबाट फलामे साङ्ली काटेर ग्याँस लगिएको थियो । रातिको ११ बजेपछि अटोमा राखेर ग्याँस सिलिन्डर लगिएको क्यामेरामा कैद भएको छ । उनले प्रहरी चनाखो भए चोरीको घटना न्यूनीकरण हुने बताए । ‘प्रहरीले ९ बजेपछि पसल बन्द गराउन साइरन बजाउँछ, त्यसपछिको काम सकियोजस्तो गर्नु हुँदैन’ उनले भने, ‘राति प्रभावकारी गस्ती गर्नुपर्छ ।’ उनले पनि चोरीमा संलग्नहरूको खोजी गरी कारबाही गर्न प्रहरीमा उजुरी दिएका छन् ।

एक महिनाअघि शनिश्चरे रोडमा रहेको विष्णुलक्ष्मी इन्टरप्राइजेजबाट ६ वटा सिलिन्डर चोरी भयो । कोसी कम्पनीको ग्याँस त्यसैगरी फलामे साङ्लो काटेर चोरी भएको चापागाईंले जानकारी दिए । ग्याँस भरिएका सिलिन्डर श्रृङ्खलाबद्धरूपमा चोरी भइरहेको व्यवसायीहरूले जानकारी दिएका छन् । बिर्तामोडका पुराना ग्याँस व्यवसायी देवेन्द्र आचार्य ४–५ महिनादेखि बिर्तामोड क्षेत्रमा ग्याँस सिलिण्डर चोरी भइरहेको बताउँछन् ।

उनका अनुसार चोरी गरिएका ग्याँस अन्यत्र लगेर बिक्री गर्ने सम्भावना धेरै छ । कञ्चनजङ्गा बोर्डिङ, मातामन्दिर क्षेत्रबाट पनि ग्याँस सिलिण्डर चोरी भएका छन् । उनले कोही कसैले ग्याँस बिक्री गर्दै आएमा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरेका छन् । चोरीका घटना भएपछि प्रहरीमा निवेदन दिने काम भइरहेको आचार्यको भनाइ छ । 

बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईंले ढलको ढकन पनि चोरी भइरहेको जानकारी दिए । बिर्तामोडको कृष्ण हल क्षेत्रका ३ वटा र बुधबारे बजार, कृषि थोक आसपासबाट ५ वटा फलामे ढकन चोरी भएको बताए । उनले ढकन उप्काइएको ठाउँमा राति सवारी दुर्घटना हुनसक्ने भएकाले रड लगाइएको बताए । 

बिर्तामोडका डिएसपी सुरज कार्कीले सिलिण्डर चोरीमा संलग्न भएको आशङ्कामा तीन जना युवालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई अतिथि सदन रोड क्षेत्रबाट सिलिण्डर बोकेर हिँड्दै गर्दा नियन्त्रणमा लिएको बताए । व्यापारीबाट  खबर आएपछि  प्रहरीले उनीहरूलाई सिलिण्डरसहित नियन्त्रणमा लिएको छ ।

डिएसपी कार्कीका अनुसार तीन युवालाई सोधपुछको काम भइरहेको छ । सबै पसलको ग्याँस चोरीमा संलग्नहरूको खोजी कार्य जारी रहेको उनले बताए । तीन हप्ताअघि बिर्तामोड–९ बद्रीबारी टोलमा एकैरात चोरले १३ वटा घरबाट तार चोरी गरी लगेको घटनासमेत सार्वजनिक भइसकेको छ ।