विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कुलको खेल मैदानमा मंगलबार भएको खेलमा राधाकृष्ण मावि, कर्मवीर मावि, सेन्ट जोसेफ स्कुल, शारदा मावि र बराहा राईजिङ्ग स्टार स्कुल विजयी भई दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा लर्डबुद्ध स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै राधाकृष्ण मावि विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा म्यान अफ म्याच राधाकृष्ण माविको आयुष खड्का घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कर्मवीर माविले जेभियर्स स्कुललाई २–० गोलले हराउँदै कर्मवीर मावि विजयी भएको छ । जितको लागि कर्मवीरका सरोज सरदार र काले सरदारले गोल गरे । दोस्रो खेलको म्यान अफ द म्याच कर्मवीरका सरोज सरदार घोषित भए ।
तेस्रो खेलमा गोग्राह स्कुललाई ३–१ गोलले निराश बनाउँदै सेन्ट जोसेफ स्कुल विजयी भएको छ । सेन्ट जोसेफको तर्फबाट निसान सिटौला, ससांक राई र आरब शर्माले गोल गरे । गोग्राहको तर्फबाट सान्त्वना गोल सुशील विश्वकर्माले फर्काए । म्यान अफ द म्याच गोग्राहका सुशील भए ।
चौथो खेलमा शारदा माविले जनपथ स्कुललाई २–१ गोलले पराजित गर्यो । जितको लागि शारदाको तर्फबाट विक्रान्त चौधरी र सुवास हिमालले गोल गरे । जनपथको तर्फबाट दृश्य राईले सान्त्वना गोल फर्काए । चौथो खेलको म्यान अफ द म्याच शारदाका सम्राट भट्टराई भए ।
अन्तिम पाँचौँ खेलमा बराहा राईजिङ स्टारले माटर्स मेमोरिय स्कुललाई ३–० गोलले हराएको थियो । जितको लागि बराहाको तर्फबाट क्रिश पौडेलले दुई र दिप्सन राईले १ गोल गरे । खेलको म्यान अफ द म्याच बराहाका प्रशान्त राई घोषित भए ।
सभ्य कला समाज र सम्राट रिपोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।