वराहक्षेत्र । उदयपुर बेलका नगरपालिका–७ स्थित दूधकोसी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा भएको काठ तस्करी घटनामा जिल्ला वन कार्यालयले कमजोर सर्जमिन मुचुल्का बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
केही पदाधिकारीलाई बचाउनका लागि कमजोर मुचुल्का बनाएको भन्दै स्थानीयले विरोध गरेका हुन् । कमजोर सर्जमिन मुचुल्का बनाएको भन्दै ब्लाष्ट टाइम्स दैनिकमा स्थानीय उपभोक्ता समितिका सदस्यहरूले पत्र लेखी जानकारी गराएका छन् । जिल्ला वनले साउन १ गते वडामा आई मुचुल्का बनाउँदा कमजोर मिसिल बनाउनका लागि सोहीअनुसारको मुचुल्का तयार गरेको स्थानीयको आरोप छ । यस घटनामा अध्यक्ष, सचिव र कोषाध्यक्ष मुछिएका छन् । बयानमा सहभागी स्थानीयले दिएको जानकारीभन्दा फरक कुरा मुचुल्कामा लेखेको उनीहरूको आरोप छ । स्थानीयले अध्यक्ष मणिराज राई, सचिव दिनेश राई र कोषाध्यक्ष ज्योति राईको नाम पोलेका थिए । तर,, सव–डिभिजन वन कार्यालयका प्रमुख पुष्प पौडेलको नेतृत्वमा आएको टोलीले अध्यक्ष मणिराजको नाम मात्रै उल्लेख गरेको स्थानीय किरण राईले बताए । अन्यको नाम लेख्न आग्रह गर्दा पनि बेवास्ता गरेको उनले बताए ।
ब्लाष्टलाई पठाइएको पत्रमा जिल्ला वनले सचिव र कोषाध्यक्षलाई बचाउने प्रयास गरेको भन्दै स्थानीय कलराज राई, किरण राई, घमन राई, लीलाकुमार राई, दीपाकुमारी राई, कमल राई, पदम राई, शान्तिकुमारी राईलगायतले पत्र लेखेका छन् । पत्रमा हस्ताक्षर गर्नेमा सीता राई, विनोद राई, जलन राई, जेनिसा राई, तिलक राई, मेसन राई, हस्तीकुमारी राई, अनिल राई, नन्दकुमार राई, विशाल राई, मनिषा राई, गङ्गाकुमार राई, प्रकाश राई, गुमान सिंह राई, सरिता राई र टीकामाया राई छन् । उनीहरूले सचिवलाई जोगाउनका लागि मुचुल्कामा नाम समावेश नगरेको दाबी गरेका छन् ।
मुचुल्का तयार गरेपछि पढ्न दिए पनि आफूहरूले भनेअनुसार कागजमा उल्लेख नगरेको किरण राईले बताए । वडानम्बर ७ को कार्यालयमा गरिएको मुचुल्कामा स्थानीय विनोद राई, अनिषा राई, पदम राई र देवदत्त राईले बयान दिएका थिए । बयानको मुख्य शीर्षकसहित बेहोरा पहिले नै लिपिबद्ध गरेर ल्याएको र त्यसमा मणिराजसहित मात्रै लेखेको आफूहरूले पाएको बताए । नाम सच्याई किटानीका साथ सचिव र कोषाध्यक्षको नाम उल्लेख गर्न आग्रह गर्दा उल्टै लेखेको ठीक छ भन्दै अनुसन्धान अधिकारीले आलटाल गरेको बताए ।
‘हामीलाई पहिलेदेखि नै शङ्का छ, मुद्दाको अवस्था के कस्तो छ, भनेर कागज हेर्न खोज्दा जिल्ला वनले रोक्यो’ किरणले भने, ‘तर, आरोपीलाई चाहिँ मजाले मिसिल हेर्न दिने, हामीलाई चाहिँ हेर्न नमिल्ने भन्दै तर्काए । त्यस्तो पनि मिल्छ र ?’ जिल्ला वनको नियन्त्रणमा रहेका सचिवले हिरासतबाटै सामाजिक सञ्जालमा विभिन्न कुराहरू पोष्ट गर्दै आएका छन् । उक्त विषयबारे आफूहरूले सबै पोष्टको स्क्रिन सट गरेर राखेको उनले बताए । यता जिल्ला वन कार्यालय गाईघाटका मुद्दाका अनुसन्धान अधिकृत राजकुमार श्रेष्ठलाई मुचुल्काबारे जिज्ञासा राख्दा उनले भने, ‘मुचुल्काको प्रतिवादी खण्डमा फलानोसमेत भएको मुद्दा भनेर लेखिने हो, उनीहरूले सबै लेख्नुपर्छ भनेर भने, कानूनको आधा अधुरा कुरा बुझेर हुँदैन नि ! रह्यो कुरा मुद्दा कमजोर बनाउने त्यो त अनुसन्धान अधिकृतलाई पनि थाहा हुँदैन हामीले प्रमाण तथ्य जुटाउने हो, शङ्का मात्र गरेर हुँदैन नि !’
गत वैशाखमा अध्यक्ष मणिराज, सचिव दिनेश र कोषाध्यक्ष ज्योतिलाई रुख कटान साथै तस्करी गरेको आरोप लगाउँदै गत जेठ २३ गते जिल्ला वन कार्यालयमा वन समूहका सदस्यसमेत रहेका कलराज राई, किरण राईलगायतले लिखित उजुरी दिएका थिए । गत जेठ २८ गते जिल्ला वनले उदयपुर जिल्ला अदालतमा आरोपीलाई पक्राउ पुर्जीको माग गरेको थियो । सो क्रममा सचिव दिनेशले पक्राउ पुर्जी जारी गरिएको १५ दिनपछि जिल्ला वनमा आत्मसमर्पण गरेका थिए । घटनाका अन्य आरोपी फरार छन् ।