विजयपुर । रियल जुसमा अखाद्य वस्तु फेला परेको छ । धरान–५ को एक किराना पसलमा खरिद गरेको जुसमा अखाद्य वस्तु फेला परेको खरिदकर्ता राजकुमार राईले जानकारी दिए ।
धरान–५ स्थित तल्लो देउरालीको एक पसलमा खरिद गरिएको ‘सिल प्याक’ रियल जुसमा लेउलगायतका विभिन्न अखाद्य वस्तु फेला परेको उनले जानकारी दिए । धरान–५ स्थित तल्लो देउरालीका स्थानीय राईले नजिकैको दीपा किराना पसलमा जुस एक लिटरको जुस खरिद गरेको बताए । उनले भने, ‘जुस खाँदा मुखमा त्यान्दो आयो । ग्लासमा खन्याएर हेर्दा लेउ नै लेउ फाहोर रहेछ । बिरामीलाई पनि जुस दिने गरिन्छ तर, यस्तो जुसले त सञ्चो मान्छेलाई पनि बिरामी बनाउने रहेछ ।’
उनले अखाद्य वस्तु भेटिएको जुसको ‘डेट एक्स्पायर’ भने नभएको बताए । उनले भने, ‘डेट एक्स्पाएर भएर पुनः स्टिकर टाँसिएको वा स्टिकरमा पुनः डेट लेखिएको हुनसक्छ ।’ पसलेले धरान–३ स्थित अधिकारी किराना पसलबाट जुस खरिद गरेको जानकारी दिए । अधिकारी किराना पसलका सञ्चालकलाई ब्लाष्टले सम्पर्क गर्दा नाम खुलाउन चाहेनन् भने जुसमा अखाद्य वस्तु फेला परेको विषयमा अनभिज्ञता प्रकट गरे । बजारमा छ्यापछ्याप्ती अखाद्य पदार्थ भेटिए पनि अनुगमन र नियमनको अख्तियारी प्राप्त निकाय बेखबर रहेको छ । जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । बजारमा यसबाहेक पनि बिस्कुट, पाउरोटी, चिप्सलगायत म्याद गुज्रिसकेका वस्तु पनि छ्यापछ्याप्ती भेटिएका छन् । तर, बजार अनुगमन र नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सबैभन्दा नजिकको धरान उपमहानगर र इलाका प्रशासन कार्यालय मौन छन् ।
धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले सम्बन्धित निकायमा यसबारे जानकारी गराउने बताए । उनले भने, ‘यसअघि पनि हामीले अखाद्य वस्तु भेटिएका पेय पदार्थ सम्बन्धित निकायमा पठाएका छौँ । यसको निरीक्षण गर्छौं र त्यस्तो भेटिए पठाउँछौँ ।’ इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले नगरपालिका, उद्योग वाणिज्य सङ्घसहित अनुगमन गर्ने बताए । उनले भने, ‘शुक्रबार नै हामी जान्छौँ ।’ उनले स्थानीयस्तरमा बिक्री गर्नेलाई भन्दा उत्पादक कम्पनीलाई कारबाही अगाडि बढाइने बताए । उनले भने, ‘प्रमाणसहित भेटिएमा हामी अढाई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्छौँ । यहाँबाट नहुने भएमा कारबाहीका लागि उपभोक्ता संरक्षण विभागमा कारबाहीका लागि सिफारिस गर्छौं ।’