विजयपुर । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसमा वृक्षरोपण गरिएको छ ।

शनिबार नेपाली काङ्ग्रेस धरान समितिको आयोजनामा  धरान–१३ र २० को सङ्गमस्थलस्थित बीपी पार्कमा ४१ वटा वृक्ष रोपिएको नेपाली काङ्ग्रेस प्रदेश सभा १(१) का सचिव युवराज शङ्करले बताए । उनका अनुसार नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सबै स्थानीय तहमा वृक्षरोपण गरिएको हो । 

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सुनसरी क्षेत्र  नं. १ र प्रदेश सभा १(१) र १(२) को आयोजनामा एक घर एक बिरुवा ‘क्लिन एण्ड ग्रिन सिटी’ अभियान पनि सुरु गरिएको छ । अभियानको सुरुवात धरान–१ बाट कोशी प्रदेशका विना विभागीय मन्त्री प्रदीप सुनुवारले गरे । अभियान सबै वडामा गर्ने क्षेत्रीय सचिव शङ्करले बताए ।

यसैगरी सोही दिन परिवर्तनशील समाज र बीपी कोइराला अनुसन्धान केन्द्रले पनि बीपी पार्कस्थित सालिकमा माल्यार्पण गरेर बीपी स्मृति दिवस मनाएका छन् । काङ्ग्रेसका अग्रज नेता हरिनाथ बास्तोलाको प्रमुख आतिथ्यमा दिवस मनाइएको थियो ।