विजयपुर । धरान उपमहानगरपालिकाबाट पर्यटन व्यवसायीहरू हतोत्साहित गरेको सरोकारवालाहरूले बताएका छन् ।

गत शनिबार धरानका नगरप्रमुख हर्कराज राईको अगुवाइमा एक टोली धरान–४ छोटीमोरङस्थित रोशन अधिकारीले सञ्चालन गरेको प्याराग्लाइडिङ टेक अफ गर्ने स्थानमा वृक्षरोपण गर्न पुगेको थियो ।

व्यक्तिको नाममा रहेको प्याराग्लाइडिङ ‘टेक अफ’ गर्ने स्थानमा नै वृक्षरोपण गरेपछि सरोकारवालाले पर्यटन व्यवसायलाई हतोत्साहित गर्ने काम गरेको व्यवसायीहरूले बताए ।

सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घमा भएको अन्तरक्रियामा सरोकारवालाहरूले स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको काम गर्नुपर्नेमा हतोत्साहित गरेको बताएका हुन् ।



पर्यटनविज्ञ कृष्ण साहले धरानमा आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएकाले स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा उल्टो व्यवसायीलाई त्रसित बनाएको बताए । उनले भने, ‘पोखराबाहेक धरान मात्रै प्याराग्लाइडिङको लागि उपयुक्त स्थान हो ।

स्थानीय सरकार प्रमुखले प्याराग्लाइडिङ टेक अफ गर्ने स्थानमा वृक्षरोपण गरिदिनु भनेको हतोत्साहित गर्नु हो ।’ उनले पोखरामा अन्तर्राष्ट्रिय उडान नियमित नभएकाले मात्र प्याराग्लाइडिङ सञ्चालनमा रहेको बताउँदै भने, ‘नियमित उडान सुरु भएपछि पोखरामा प्याराग्लाइडिङ गर्न मिल्दैन ।

पोखराका व्यवसायीहरूले विकल्प खोजिरहेका छन् ।’ तर धरानमा भने स्थानीय सरकार प्रमुखले प्याराग्लाइडिङ टेकअफ गर्ने स्थानमा वृक्षरोपण गरेपछि यहाँकै व्यवसायी विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । उनले प्रतिप्रश्न गर्दै भने, ‘नगरले जतिबेला जे पायो, त्यही गर्दा व्यवसायीको लगानी असुरक्षित हुन्छ । असुरक्षित भएपछि व्यवसायीले कसरी लगानी गर्छन् ?’ ।

उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले धरानेको योगदानले निर्माण भएको धरानलाई एक्सपायर बनाउने काम भइरहेको बताए । उनले भने, ‘वृक्षरोपण, खानेपानीको लागि राम्रो हो तर, धेरै काम भएका छैनन् । जसले धरानलाई पछि पार्दैछ ।’

पर्यटन व्यवसायी तथा पर्यटन एवम् हवाई विभागका संयोजक भवेस श्रेष्ठले कोशी प्रदेशमा धरान पर्यटनका लागि महŒवपूर्ण भएको बताए । उनले पर्यटनका लागि नेपालको दोस्रो पोखरा भनिने धरानका व्यवसायीलाई नगर सरकारले हतोत्साहित गर्नु दुःखद् भएको बताए ।

  पर्यटन व्यवसायी वासु बरालले टेक अफ पोइन्ट र ल्याण्डिङ पोइन्टका लागि नेपाल सरकारले लगानी गरेको बताए । उनले सरकारले सुविधा दिनुपर्नेमा अवरोध गर्नु गलत भएको बताए । उनले धरानवासी अन्याय सहेर बसेको बताउँदै भने, ‘अब पनि बोलेन भने धरान सत्यनाश हुन्छ ।

उनले धरानमा पर्यटकहरू विभिन्न कारणले आउनै छाडेको बताए । उनले नगरप्रमुख राईले नै धार्मिक असहिष्णुता उत्पन्न गराउन खोजेको दाबी गरे । धरानमा भारतबाट धार्मिक पर्यटक आउने गरेका छन् । तर, धरानमा धार्मिक द्वन्द्व भए भारतीयको आगमन बन्द हुने उनले बताएका छन् ।

पर्यटन व्यवसायी मदन ढकालले पर्यटनको विकास गर्न नसके पनि नमास्न आग्रह गरे । उनले जग्गाको मुद्दा सर्वोच्च अदालतमा रहेकाले वृक्षरोपण नगर्नसमेत आग्रह गरेका छन् । उनले नगर प्रमुख राईले कानूनलाई हातमा दिने कामसमेत गरेको दाबी गरे ।

उनले ऐतिहासिक विजयपुर क्षेत्रमा चर्च निर्माण गरी धार्मिक द्वन्द्व निम्त्याउन खाजेको बताए । होटल व्यवसायी सङ्घ धरानका अध्यक्ष सरोज भट्टराईले पर्यटन व्यवसायमा ठूलो घात गरेको बताए ।