धनकुटा । साँगुरीगढी गाउँपालिकाभरिका भूमिहीन सुकुम्बासी तथा दलितहरूलाई लाजपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान कार्यक्रम मङ्गलबार देखि सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकाभरिका ३९ घरपरिवारलाई भूमिहीन सुकुम्बासी तथा दलितहरूलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जितेन्द्र राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष बलबहादुर राईसहित सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर र वडाध्यक्षहरूको रोहवरमा ३० घरपरिवारलाई निस्सा वितरण गरिएको थियो ।

निस्सा वितरण गरिएका कुल ३९ घरपरिवारमध्ये १० घरपरिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्बासी भूमिहीन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार निस्सा वितरण भएसँगै लालपुर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ । गाउँपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर भूमिहीन सुकुम्बासी तथा दलितहरूको लगत सङ्कलन गरेको थियो । वडासचिवमार्फत् रुजु र कम्प्युटर इन्ट्रीको काम गरिएको थियो । त्यसपछि लगत सङ्कलनबाट प्राप्त नामावलीलाई राष्ट्रिय भूमि आयोगको निर्देशिका अनुसार कार्यपालिका बैठकले भूउपयोग स्वीकृत गरेर प्रमाणीकरण गरी ४६ जनाको नाम आयोगमा बुझाइएको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले बताए ।