धरान । पिण्डेश्वर विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइले शोधसुधा (वर्ष–१, अङ्क–१) विज्ञसमीक्षित बहुभाषिक अनुसन्धानात्मक जर्नल विमोचन गरेको छ ।

विद्यापीठको कालिदास भवनमा आयोजित विमोचन कार्यक्रममा विद्यापीठका प्राचार्य उप–प्रा.काशीनाथ पौडेलले अनुसन्धानबाट नै विश्वविद्यालय चिनिने हो भन्दै अब सबै प्राध्यापकहरू अनुसन्धान कार्यमा क्रियाशील हुनुपर्ने बताए । प्रकाशित जर्नलका विषयमा प्रा.डा.सागरमणि सुवेदी, उप–प्रा.डा.जीवनकुमार राई र उप–प्रा.राजेश विद्रोहीले समीक्षा प्रस्तुत गरेका थिए । जर्नलमा डा.गुरुप्रसाद कोइराला, डा.महानन्द तिमिल्सिना, उप–प्रा.टीकाराम दाहाल, उप–प्रा.तुलसी पौडेल र दीपेन्द्र गौतमका संस्कृत भाषामा लेखिएका लेखहरू रहेका छन् भने डा.रमेश घिमिरे, डा.तुलसी गौतम, डा.नित्यानन्द खतिवडा र सह–प्रा.अम्बरराज ढकालका नेपाली भाषामा निबद्ध लेखहरू छन् ।

यसै गरी डा.दिवाकर रेग्मी, डा.रमेश लिम्बू र उप–प्रा.कृष्णगोपाल अधिकारीका अङ्ग्रेजी भाषामा आबद्ध लेखहरू सङ्कलित छन् । डा.भवानीशङ्कर भट्टराईको प्रधान सम्पादकत्वमा जर्नल प्रकाशित भएको छ । अनुसन्धान कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले विश्वविद्यालयले हरेक विद्यापीठहरूमा अनुसन्धान व्यवस्थापन एकाइ गठन गरेको अवस्थामा यस विद्यापीठको एकाइले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापन क्षमता विकास, अनुसन्धान प्रविधि तालिमजस्ता प्राज्ञिक कार्यक्रम सम्पन्न गरिसकेको एवम् लघु अनुसन्धान कार्यक्रमसमेत सञ्चालन गरिरहेको विषय कार्यक्रमका सभापति तथा अनुसन्धान एकाइका संयोजक डा.महानन्द तिमिल्सिनाले बताए । विमोचन कार्यक्रमको सञ्चालन डा.रमेश लिम्बूले गरेका थिए ।