झापा । झापामा लागूऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागूऔषध कारोबारी पक्राउ परेका र तीमध्ये १६ देखि ६० वर्षसम्मका व्यक्ति छन् ।
उनले १६ वर्षमुनिका एक, १६ देखि २५ वर्ष उमेर समूहका एक सय सत्ताईस, ३६ देखि ४५ वर्षका ३८, छयालीसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको बताए ।
जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैङ्क, कुमरखोद, कचनकवललगायतका विभिन्न नाकाबाट दैनिकजसो प्रहरीले लागूऔषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागूऔषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए । उनले एक वर्षको अवधिमा लागूऔषध मुद्दामा करिब दुई केजी ब्राउनसुगर, २८ केजी गाँजा, एक सय १५ थान लुपिजेसिक, एक सय ३० एम्पुल डाइजेपाम, एक सय २५ एम्पुल फेनारगन, नाइट्रोजन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।