विराटनगर । दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ ।
विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो ।
उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपविजेता बनेको सत्यनारायण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो ।
बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक साबित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरूमा पनि बराहा राईजिङलको वर्चस्व रह्यो ।
वेस्ट गोल किपरमा सनसाईनका सुप्रीम सुवेदी, वेस्ट डिफेन्स डन बस्को स्कुलका पृथु मान सिंह अधिकारी, वेस्ट मीड फिल्डर सत्यनारायण माविका भरत चौधरी, वेस्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए । वेस्ट – कोचमा बराहाका आकाश राई भए । हाइ स्कोर बराहाका रोहन राई, प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी युनिक एकेडेमीका धिरज उराव भए ।
सभ्य कला समाज र सम्राट रिपोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए ।
सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ । विजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।