भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचारविरोधी अभियानमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेले बताएका छन् ।

उनले सरकारको यो कामलाई गलत रुपमा अर्थ नलगाउने बताए । नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभुति चाहिने उल्लेख गर्दै लामिछानेले त्यसमा सरकारले गरेका कामलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने बताए ।

सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सरेको दाबी गरे । 

‘भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो । सम्भवतः यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ लामिछानेले भने, ‘अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुुनुपर्छ । त्यसकारणले यो संकेत देखिएकै छ । ठिक छ । हामी खुसी छौं ।’

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउन प्रयास गरिरहेको बताए । उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्याउने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।