धनकुटा । गत माघ ६ गतेदेखि १६ गतेसम्म धनकुटामा सञ्चालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवम् धनकुटा महोत्सवको खर्च बिहीबार सार्वजनिक गरिएको छ ।

महोत्सवको आयोजकसमेत रहेको धनकुटा उद्योग वाणिज्य सङ्घ धनकुटाले पत्रकार सम्मेलन गर्दै महोत्सवको आय–व्यय सार्वजनिक गरेको हो । महोत्सवका लागि विभन्न सङ्घ–संस्था, प्रायोजक, सह–प्रायोजक तथा अन्य सहयोगी संस्थाबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ प्राप्त भएको धनकुटा उद्योग वाणिज्य सङ्घ धनकुटाका कोषाध्यक्ष रूपेश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी महोत्सव सञ्चालनमा ५६ लाख ४ हजार २५ रुपैयाँ खर्च भएको र महोत्सवबाट २४ हजार ३ सय ७५ रुपैयाँ मात्र नाफा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव सञ्चालनको क्रममा माघ १४ गते अत्यधिक दर्शकहरूको भीडका कारण दुःखद् घटनामा परी ३१ जना घाइते भएका थिए । घाइतेको उपचारको लागि ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ खर्च भएको बताइएको छ ।

त्यसका साथै विविध कारणले गर्दा महोत्सवले भनेजस्तो नाफा कमाउन नसकेको आयोजकले जनाएको छ । स्थानीय उत्पादन तथा लोकसंस्कृतिलाई प्रोत्साहन दिने र पर्यटन प्रवद्र्धन गरी धनकुटाको विकास समृद्धिको लागि सहयोग गर्ने लक्ष्य राखी महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

१० दिनसम्म सञ्चालन भएको महोत्सवमा १ लाख ५० हजार व्यक्तिले अवलोकन गरेको उद्योग वाणिज्य सङ्घ धनकुटाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकुमारी तितुङ (तारा) ले जानकारी दिइन् । महोत्सवमा स्थानीय कलाकार, स्थानीय जातजातिका झाँकी तथा स्थानीय उत्पादन तथा परिकारको प्रवद्र्धन भएको सचिव श्रीराम रायमाझीले जानकारी दिएका छन् ।