धरान । नेपाल–भारत सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई आवत–जावतमा कडाइ गरेको छ । सुनसरी जिल्लाका विभिन्न सीमा नाका हुँदै भारतीय बजार प्रवेश गर्ने नेपाली नागरिकमाथि भारतीय पक्षले चेकजाँचमा कडाइ गरेको हो ।
नेपालबाट किनमेल गर्न भारतीय बजार जाने नेपालीलाई एसएसबीले परिचय–पत्र अनिवार्य गरेको छ । जिल्लाको भण्टाबारीसहितका नाकाबाट भारतीय बजार जाने नेपालीलाई परिचय–पत्र विना भारतीय पक्षले रोक लगाएको स्थानीय बताउँछन् । ‘नेपालबाट भारतीय बजार जाने नेपाली नागरिकको एसएसबीले नागरिकता वा परिचय–पत्र हेर्ने गर्दछ, भयो भने जान दिन्छन् नभए सीमाबाटै फर्काइदिन्छन्’ स्थानीय राकेश मण्डलले भने, ‘आजकाल भारतीय पक्षले चेकजाँचमा कडाइ गरेको छ ।’ विगतमा परिचय–पत्र विनै भारत आवत–जावत गर्ने कतिपय नेपालीलाई एसएसबीले कडाइ गरेपछि सास्ती भोग्नुपरेको सर्वसाधारणको भनाइ छ ।
सीमामा आजभोलि नयाँ–नयाँ नियम लागू गर्दा सर्वसाधारणले दुःख पाएको गुनासो गर्दै अर्का स्थानीय जितेन्द्र मेहताले भने, ‘कहिले माथिको आदेश त कहिले के भन्दै भारतीय पक्षले पहिचान खुल्ने विवरण राख्ने गर्दछन्, परिचय–पत्र बोक्न बिर्सेका मानिस भारत जाने अनुमति नपाउँदा घर फर्किनु पर्ने अवस्था छ । भारतीय नागरिक सजिलैसँग नेपाली बजारमा आउने गर्दछन्, उनीहरूलाई केही गर्नु पर्दैन ।’ नाम नछाप्न आग्रह गर्दै अर्का एकजना स्थानीयले भने, ‘भारत जाँदा हामीलाई मात्रै किन यस्तो ?’ विभिन्न बहानामा बेलाबखत सीमामा भारतीय पक्षले नेपालीलाई दुःख दिने गरेको ती व्यक्तिले गुनासो गरे ।
सामान किनबेच तथा रोजगारीका लागि भण्टाबारी नाकाहुँदै नेपालीहरू भारततर्फ जाने गरेका छन् । तर, नागरिकता, मतदाता परिचयपत्र, राहदानी वा सरकारी निकायको परिचय–पत्र देखाए मात्रै अबदेखि उनीहरूले भारत जाने अनुमति पाउँछन् । सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै भारतीय पक्षले आवात–जावत गर्ने नेपालीको हकमा अनिवार्य रूपमा परिचय–पत्र बोक्नुपर्ने व्यवस्था गरेको बुझिएको छ ।
पछिल्लो समय भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुँदै भारत प्रवेश गरेर बिहार हुँदै उत्तरप्रदेशको नोयडा पुगेपछि भारतीय पक्षले नेपालसँग सीमा जोडिएका नाकाहरूमा कडाइ गरेको अनुमान गरिएको छ । एसएसबीले सीमाक्षेत्रमा आवत–जावत गर्ने नेपालीसँग नागरिकता वा पहिचान खुल्ने परिचय–पत्र तथा भारतीय भएको अवस्थामा आधार कार्ड खोज्न थालेको छ ।