प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ ।
गत साउन ३ गते बरामद भएको एक सय किलो सुन प्रकरणको अनुसन्धान सीआईबीको नेतृत्वमा हुने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकाले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न निर्देशन दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको एक सय किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको थियो ।
यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन लामो अनुसन्धान गरेको छ । यसबीचमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन् । विभागले बालुवाटार, सोह्रखुट्टे, टोखा र ठमेलसहित विभिन्न स्थानमा छापा मारेर सुन गाल्ने मेसिनदेखि अन्य कयौँ उपकरण बरादम गरिसकेको छ ।
बिहीबार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको बैठक बसेको थियो ।
बैठकमा सहभागी प्रहरी महानिरीक्षक वसन्त कुँवरका अनुसार सुन तस्करी प्रकरणमा अहिलेसम्म राजस्वले जेजति अनुसन्धान गरेको छ, त्यसको सबै फाइल सीआईबीलाई बुझाएर छानबिन अघि बढाउने निर्णय भएको छ ।