नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।
बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन् ।
अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनले बताए । साथै, प्राधिकरणको तेस्रो वित्तीय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए । आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो ।
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङले बताए ।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले बताए । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।