सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए ।