ब्लाष्ट दैनिकका धनकुटा संवाददाता सन्तवीर लामा सम्मानित भएका छन् ।
शनिबार तामाङ पत्रकार सङ्घ सङ्घीय समितिले २९ औँ तामाङ प्रसारण दिवसको अवसरमा काठमाडौंमा आयाजित कार्यक्रममा लामालाई सम्मान गरेको हो । विक्रम सम्वत् २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा ‘तामाङ ताम्ला साङ्ग्यूर’ अर्थात् तामाङ भाषाको समाचार प्रसारण भएको थियो । उक्त दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते तामाङ समुदायले तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आइरहेको छ । सो अवसरमा समितिले पत्रकार लामालाई ‘तामाङ मिडिया अवार्ड २०८०’ ले सम्मान गरेको छ । लामा धनकुटामा रहेर विगत २५ वर्षदेखि ब्लाष्ट टाइम्समा आबद्ध भएर पत्रकारिता गरिरहेका छन् ।
त्यस्तै काठमाडौँ उपत्यकाबाट प्रसारण हुने इण्डिजिनियस टेलिभिजनकी कार्यक्रम उत्पादक तथा प्रस्तोता मायालु तामाङ (ङेसुर) लाई पनि सम्मान गरेको छ । कार्यक्रममा बागमती प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा (मोक्तान) ले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले तामाङ भाषा र नेवारी भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरिसकेको बताए । उनले चाँडै आवश्यक ऐन, कानून र कार्यविधि बनाएर सरकारी कामकाजी भाषाको रूपमा तामाङ र नेवारी भाषालाई प्रयोगमा ल्याउने बताए । मन्त्री तामाङले भने, ‘बागमती प्रदेशमा स्वभावैले तामाङ र नेवारी समुदायको जनघनत्व बढी रहेको छ । भाषा आयोगले पनि तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको लागि सिफासिर गरेकाले प्रदेश सरकारले निर्णय गरेरै अघि बढाउन लागेको छौँ ।’
मन्त्री लामाले २१ औँ शताब्दीका तामाङ पत्रकारहरूलाई नयाँ र डिजिटल प्रविधिको प्रयोग गर्दै सत्य र तथ्यको आधारमा पत्रकारिता गर्न आग्रह पनि गरे । कार्यक्रममा तामाङ पत्रकार सङ्घले प्रकाशन गरेको ‘ह्याङ्ला काई’ विशेषको विमोचन गरिएको छ भने तामाङ सेलोका चर्चित गायक चन्द्रकुमार तामाङ (मोक्तान) ले गाएको पुरानो तामाङ गीत ‘साङाला जिर्मा ग्वाईबारी म्हेन्दो’ नयाँ रिमिक्स भर्सन गीतको भिडियो पनि सार्वजनिक गरिएको । नयाँ रिमिक्स गीतमा गायक सुनिल लामा र गायिका सोनिया लामाले स्वर दिएका छन् भने वाइएसके ग्रुपले ¥याप भरेका छन् ।
शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले, मानवशास्त्री डा.मुक्तसिं तामाङ, भाषाविद् अमृत ह्योञ्जन तामाङ, रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार वाचन गरेकी समाचार वाचिका रमिता तामाङ (बल), आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, अवार्ड छनौट समितिका संयोजक तथा तामाङ पत्रकार सङ्घका संरक्षक एवम् सल्लाहकार प्रतीक तामाङ (ङेसुर), रेडियो नेपालका तामाङ भाषा समाचार सम्पादक तथा वाचिका इन्दिरा थिङ (तामाङ), सम्मानित एवम् पुरस्कृत व्यक्तित्वको तर्फबाट ब्लाष्टकर्मी सन्तवीर लामाले प्रसारण दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच २९ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार सङ्घ दक्षिण कोरियाले भर्चुअल रूपमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखा र भक्तपुर शाखाले पनि छुट्टाछुट्टै अन्तरक्रिया एवम् शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । सो अवसरमा ‘तामाङ पत्रकारहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यसैगरी तामाङ पत्रकार सङ्घ १ नम्बर प्रदेश समितिले सङ्खुवासभाको चैनपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको सङ्घका अध्यक्ष मोहन तामाङले जानकारी दिएका छन् । यता तामाङ पत्रकार सङ्घ काभ्रे, सिन्धुली, मकवानपुर, सर्लाहीलगायतमा पनि शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । देशभरका ३६ जिल्लामा रहेका जिल्ला शाखाहरूले २९ औं तामाङ प्रसारण दिवसलाई विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाएको सङ्घका सङ्घीय अध्यक्ष सुवास योञ्जन तामाङले बताए ।