विजयपुर । लाखे नाचलाई मर्यादित र व्यवस्थित बनाउन नेवाः देय् दबू धरान समितिले आचार–संहिता लगाउने  भएको छ । आचार–संहिता उल्लङ्घन गर्ने व्यक्ति तथा सङ्घ–संस्थालाई कारबाही गर्ने भएको छ ।

भदौ ४ गतेदेखि सुरु हुने लाखे नाचमा विकृति विसङ्गति नभित्रियोस् भन्ने उद्देश्यले आचार–संहिता लागू गरिएको समितिका अध्यक्ष मनोहर शाक्यले बताए । शनिबार समितिले पत्रकार सम्मेलन गरेर ९ बुँदे अचार–संहिता सार्वजनिक गरेको छ । समितिका अनुसार धरान क्षेत्रभित्रका सम्पूर्ण लाखे नाच नचाउने समूह वा संस्थाहरूले कलाकारको विवरणसहित नगर दबूमा सूचीकृत गर्नु पर्नेछ । लाखेनाचका समूह वा संस्थाहरूले आफ्नो परिचय खुल्ने गरी ब्यानर, परिचय–पत्र वा टिर्सट लगाउनु पर्नेछ । धरानभित्र रहेका घर वा व्यापार, व्यवसायीबाट आर्थिक सङ्कलन गर्न पाइने छैन । तर, लाखेनाच गराउँदा स्वतःस्फूर्त रूपमा प्राप्त आर्थिक सहयोग र निम्तो प्राप्त भई श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी) ग्रहण गर्न सकिनेछ ।

धरान क्षेत्रभन्दा बाहिर जाने वा बाहिरबाट आउने लाखे समूहले उद्देश्यसहित समितिलाई लिखित जानकारी गराउनु पर्नेछ ।  मदिरापान, मादकपदार्थ र लागूपदार्थ सेवन गरी लाखे नाच्न पाइने छैन । लाखेनाच संस्कारसँग प्रत्यक्ष सरोकार राख्ने समुदायबाहेक अन्य समुदायले लाखेनाच गराउन पाइने छैन । बाल लाखेनाच गर्ने वा गराउने समूहलाई विशेष रूपमा केन्द्रित गर्दै उमेर नपुगेका बालबालिकाहरूलाई लाखेनाच समूहमा हिँड्न पनि नदिन अभिभावकलाई अनुरोध गर्ने समितिका सचिव दीपेन्द्र श्रेष्ठ कसजूले बताए । बालबालिका लाखेनाचमा हिँड्दा कुनै अप्रिय दुर्घटना भएमा त्यसको जिम्मेवारी स्वयम् लाखेनाच समूह वा अभिभावकले लिनुपर्नेछ ।

आचार–संहिता उल्लङ्घन गरेको पाइएमा ढोल, झ्याम्टा जफत गरी कानूनी कारबाहीका लागि प्रहरी प्रशासनको सहयोगमा कारबाही गरिने संयोजक अमृत श्रेष्ठले बताए । समितिले प्रतियोगितात्मक लाखे नाच पनि गर्ने भएको छ । समितिले २०८० भदौ १८ गते भानुचोकमा ‘चौथो बृहत् खुल्ला लाखेनाच प्रदर्शनी तथा सुनसरी जिल्लास्तरीय लाखेनाच प्रतियोगिता’ गर्ने भएको हो । प्रतियोगितामा सुनसरी जिल्लाभित्रका लाखेनाचले संस्थागत एवम् खुल्ला समूहगत सहभागी हुन पाउनेछन् ।

प्रतियोगितमा प्रथम हुनेले २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गर्नेछ । तेस्रो हुनेले १० हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गर्नेछ । सान्त्वना हुनेले ५ हजारसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । सहभागीहरूले पनि प्रमाण–पत्र पाउनेछन् । सहभागी हुनका लागि २ हजार रुपैयाँ शुल्क लाग्नेछ । समूह वा संस्था २०८० भदौ १५ गतेसम्म दर्ता गर्नुपर्नेछ ।