भद्रपुर । भद्रपुरस्थित मानव अधिकारका लागि महिला, एकल महिला समूह झापाको भवनमा एक सुस्त मनस्थिति भएकी महिलाले छोरा जन्माएकी छन् ।

ती महिलालाई गत असारमा भद्रपुर नगरपालिकाले बेवारिसे महिला भनेर सो समूहको संरक्षणमा जिम्मा दिएको थियो । साउन २६ गते सुरक्षितरूपमा जन्मिएको बालक भोलिपल्ट त्यहाँ नदेखिएपछि स्थानीयले हो–हल्ला गरी बालकको खोजी गरेका थिए । बालकलाई खोजी गरेको थाहा पाएपछि एकाएक बालककोे ‘म हजुरबुबा’ भन्दै आएका एक पुरुष र एक महिलाले बालकलाई लिएर गएका थिए ।

घटना विवरणअनुसार २६ गते जन्मिएको बालकलाई आमाले स्याहारसुसार गर्न नसक्ने भन्दै कुनै कानूनी प्रक्रिया नअपनाई २७ गते बिहानै हवाईमार्गमार्फत् काठमाडौं लगिएको थियो । यता बालकको खोजी भएपछि ३१ गते ४ बजे पुनः हवाईमार्गमार्फत् बालकलाई फर्काएर ल्याइएको थियो ।

पहिला बेवारिसे भनिएकी महिलाको अहिले बुबा दाबी गर्दै आउनुमा कुनै रहस्यमय घटना भएको शङ्का स्थानीयले गरेका छन् । मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष रेखा अधिकारीका अनुसार ती महिलाका बुबा बेला–बेला सम्पर्कमा आउने गरेका थिए । परिवारमा कान्छीआमा भएका कारण महिलालाई घरमा राख्न नसकेको र सुस्त मनस्थिति र त्यसमाथि गर्भवती भएकाले सुरक्षाका लागि एकल महिला समूहमा राखिएको थियो । बालक जन्मिएपछि आमाले सम्हाल्न नसक्ने भएकोले महिलाका बुबाले जिम्मा लिएर लगेको अध्यक्ष अधिकारीले बताइन् ।

बालक जन्मिएपछि सालनाल नझरेपछि महिलाका बुबाले नै हस्पिटल लगेको उनले बताइन् । भोलिपल्ट (साउन २७ गते) बुबाले आफन्तलाई जिम्मा दिएको उनले सुनाइन् । समयमा  अभिभावक पनि सम्पर्कमा रहेकोले कानूनी प्रक्रियामा जानुपर्ने अवस्था नदेखेर लगेको उनको भनाइ छ । तर, त्यसरी बालक दिन कानूनी प्रक्रिया अपनाउनु पर्ने भएकोले तुरुन्तै बालक झिकाएर हाल घरमा नै सुरक्षित राखेको उनले बताइन् । अब कानूनी प्रक्रिया पूरा गरेर मात्रै आफन्तलाई बालक जिम्मा लगाउने उनको भनाइ छ । हाल आमा र बालकको स्वास्थ्य अवस्था ठीक रहेको उनले जनाइन् ।

घटनालाई कानूनी प्रक्रिया पूरा गर्न ३२ गते नगरपालिकामा छलफल गर्ने भनिए पनि बालकको हजुरबुबालाई नाता प्रमाणित गरिल्याउन पठाएकोले छलफल नभएको युवा नागरिक समाज झापा भद्रपुरका अध्यक्ष प्रेम खनालले बताए ।

कानूनी प्रक्रिया नपुर्याई बालक अभिभावकको जिम्मा दिएकोले आधिकारिक हो, होइन थाहा पाउन नाता प्रमाणित र बसाइँ सराइ प्रमाण ल्याउन लगाएको नगरप्रमुख गणेश पोखरेलले बताए । सेफ हाउसले प्रक्रिया पूरा नगरी व्यवहारिकता हेरेर बालक जिम्मा लगाएका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।