धरान यतिबेला सामाजिक गतिरोधको उल्झनमा फस्नेतर्फ उद्यत छ । हिन्दू मन्दिर नजिकै चर्च बनेको विषय र गोरु काटेर सार्वजनिक भोज गरिएको विषयले धरानमा सामाजिक गतिरोध पैदा भएको छ । यसमा मलजल गरेको छ, सामाजिक सञ्जालका अतिवादी टिप्पणीहरुले । सामाजिक सञ्जाल र समाजमा यी विषयको कानुनी र सांस्कृतिक निरुपणको खोजी भइरहेको छ । र, आआफ्ना पक्षमा मतमतान्तरहरु सार्वजनिक भएका छन् ।
विभेदकारी कानुन खारेज गर्न माग गर्दै १६ संगठनको विज्ञप्ति, सामाजिक सद्भाव भड्किएको भन्दै कारबाहीको माग
विभेदकारी कानुन खारेज हुनु पर्ने साथै गोरुको मासु खाएवापत् हुने प्रहरी धरपकड बन्द हुनु पर्ने माग राख्दै धरानका १६ संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ, सांस्कृति अधिकार संरक्षण समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (६ घटक), मंगोल नेशनल अर्गनाइजेशन, लिम्बुवान काङ्शोरे फोर्सलगायत संगठनले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका छन् ।
धरानमा ०७४ सालमा पनि गोरु काटेको आरोपमा पक्राउ परेका १० जना रिहा भएपछि धरान–११ मंगलबारेमा सार्वजनिकरुपमा सम्मान गरी उपस्थित सबैलाई गोरुको मासु खुवाइएको थियो ।
संगठनहरुले समाजिक सद्भाव भड्काउनेलाई कारबाहीको मागसमेत गरेका छन् ।
धरानमा रहेका विभिन्न समाजिक संघसंस्था तथा राजनीतिक दलहरुले विभिन्न माध्यमबाट समाजिक सद्भाव भड्काउने अभिव्यक्ति आएको भन्दै संगठनहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
‘सामाजिक सद्भाव भड्काउने कोणबाट संगठितरुपमा विभिन्न साम्प्रदायिक अभिव्यक्ति आउन थालेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साम्प्रदायिक विचारहरुले संगठित समूह वा गुटहरुलाई फाइदा भए पनि समग्ररुपमा नेपालमा विखण्डन ल्याउने प्रस्ट छ ।’
गोरु काटेको आरोपमा पक्राउ परेका ब्रिन्दाकुमार राई र राजन परियार धरौटीमा रिहा भएपछि उनीहरुको सम्मानमा धरान–११ को मंगलबारे चोकमा साउन २८ गते सम्मान कार्यक्रम राखिएको थियो ।
सोही कार्यक्रममा गोरुको मासु बाँडिएको विषय विभिन्न माध्यमबाट आएपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति आएको भन्दै धरानका १६ वटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेको हुन् ।
विज्ञप्तिमा संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक देश स्वीकार गरेको उल्लेख गर्दै भनिएको छ, ‘एउटा सांस्कृतिक समुदायले आफ्नो संस्कृति मनाउँदा अर्को सांस्कृतिक समुदायले हिंसा वा साम्प्रदायिक भावना फैलिने अभिव्यक्ति वा विचार राख्नु कानुनीरुपमा दण्डनीय अपराध हो ।’
विज्ञप्तिमा नेपालीबीचको सद्भाव भड्काउने तत्वहरुलाई पक्राउ गर्नु पर्ने माग गर्दै साम्प्रदायिक विचारहरुले भविष्यमा ल्याउन सक्ने घटनाको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष हुने उल्लेख गरिएको छ ।
विज्ञप्ति हेर्नुहोस्
सामाजिक सद्भाव भड्किनेप्रति दलको चिन्ता
यसैबीच आज नेकपा एमाले जिल्ला कमिटी सुनसरीले धरानमा धार्मिक तथा सांस्कृतिक भड्काव आउन सक्ने उच्छृङ्खल गतिविधि भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
सदियौंदेखि सबै खाले विविधता बीचमा एकता, सद्भाव र सहिष्णुताका साथ समाजमा मिलेर बसेको धरान उपमहानगरपालिका क्षेत्रमा केही समय यता भएका उच्छृङ्खल गतिविधिले समाजमा हिंसा भड्काउने र नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिगामी तथा प्रतिगमनकारी शक्ति र व्यक्तिहरुको चाहनामा मलजल गर्ने र लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्नेसम्मको हर्कत हुनसक्ने तर्फ एमाले सुनसरीले चिन्ता व्यक्त गरेको छ ।
‘नेपालको संविधान र कानुनद्वारा निर्दिष्ट गरेको व्यवस्था तथा हाम्रो सामाजिक एकता र सद्भावको ऐतिहासिक मूल्य मान्यतालाई खलल हुन कदापि दिन हुँदैन र कुनै पनि खालको अतिवादबाट मुलुक र समाजलाई जोगाउनु पर्दछ भन्ने मान्यता प्रति हामी दृढ संकल्पित छौं ।’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धरानमा भइरहेको सामाजिक सद्भाव भडकाउने कृयाकलाप नगर्न सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गर्दछौं । साथै विषयको गाम्भीर्यतालाई आत्मसात गर्दै सम्बद्ध पक्षसँग शान्ति र अमनचयन कायम गर्न गराउन संघीय, प्रान्तीय र स्थानीय सरकारलाइ आह्वान गर्दछौ ।’
एमाले सुनसरी सचिव पर्शुराम यादवद्वारा जारी विज्ञप्तिमा आम नागरिकलाई सचेत हुन आग्रह गरिएको छ ।
यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समेत विज्ञप्ति जारी गरी सामाजिक सद्भावलाई अक्षुण राख्न सम्बन्धित पक्षसँग आग्रह गरेको थियो ।
यो विषयमा विवादित छविका धरान नगरप्रमुख हर्कराज राईले भने सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । नगर प्रमुख राईलाई मन्दिर आगाडि चर्च निर्माण गरेको विषयमा पक्षपोषण गर्दै आएको र गोरु काटे र भोज लगाएको विषयमा समेत मौनता साँधेको टिप्पणी भइरहेको छ । धरानलाई सामाजिक गतिरोधको उल्झनबाट पार लगाउन नगर प्रमुखको समेत भूमिका अपेक्षित रहेको टिप्पणी हुँदै आएको छ ।